एनआरएनएमा समय सापेक्षा एजेण्डामा फोकस आवाश्यक

समयको क्रमसँगै गैरआवासीय नेपाली अभियानको कार्यक्षेत्र, दायित्व र जिम्मेबारीको दायरा  सागर जस्तै गहिरो र आकास जस्तै फराकिलो बन्दै गएको छ । साथ साथै यो अभियानलाई थप मर्यादित, अभियन्ताहरुको  सामाजिक, व्यक्तिगत, व्यवसायिक जिवनको सुरक्षित निरन्तरताको सवाल चुनौतिपुर्ण पनि बन्दै गएका छन् । नेपाल सरकारले सांस्कृतिक, नेपाल प्रवद्धन तथा लगानी दुत पहिचाहान दिएको एनआरएनए अभियानको दायित्व त्यतिमा सिमित छैन । नेपाल र नेपाल बाहिरका नेपालीहरुको अपेक्षा र अभियान कै आन्तरिक कठिनाइहरु निकै चुनौतिपुर्ण छन् । गैरआवासीय नेपाली संघको एसिया प्यासेफिक क्षेत्रीय बैठकको माहोलमा केहि बिषयहरुलाई फोकस गरेर छलफल गरिनु पर्ने देखिएको छ । 

राष्ट्रिय समन्वय परिषद्हरुको दर्ता  
एनआरएनहरुमा व्यापक सम्भावना छन् । नेपालमा राजनैतिक स्थिरता स्थापित भएसँगै विदेशिने नेपालीहरुको संख्या घट्ने प्रक्षेपण गरिएको भए पनि विभिन्न पेशाा व्यवसायमा संलग्न नेपालीहरु गुणत्मक र भौगोलिकरुपमा विस्तार हुने क्रम तत्काल घट्ने देखिदैन । नेपालीहरुको गुणात्मक आप्रवासनले ज्ञान सीप प्रविधि आयात गर्न उल्लेख्य योगदान गरिरहने छ । त्यसको प्रभावकारी माध्याम गैरआवासीय नेपाली संघ नै हो । डेढ दशक लामो इतिहाँस बोकेको यो संघका आफ्नै कयौ कठिनाईहरु छन् । त्यस मध्येको प्रमुख गैरआवासीय नेपाली संघका कतिपय राष्ट्रिय समन्वय परिषद्हरु सम्बन्धित देशको कानुन बमोजिम दर्ता हुन नसक्नु हो । जसका कारण ति राष्ट्रिय समन्वय परिषद्हरुले पुर्ण आत्माविश्वासका साथ आफ्ना गतिविधिहरु संचालन गर्न सकिरहेका छैनन् । अझ दर्ता नभएका राष्ट्रिय समन्वय परिषद् मार्फत गतिविधिहरु गर्दा अभियन्ताहरु विभिन्न समस्यामा पर्ने गरेका छन् । पछिललो समयमा घटेका केहि घटनारुले सिङ्गो संस्थालाई चिन्तित बनाएको छ ।  यो संस्था नेपालमा पनि उच्च महत्व दिएर बिशेष कानुनी व्यवस्था गरेर स्थापना भएको लामो समय पछि दर्ता भएको संस्था हो । यस महत्वपुर्ण संस्थाको आधार स्तम्भको रुपमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुलाई पनि राष्ट्रिय स्तरबाट पहल गरेर बिशेष व्यवस्था गराए नै भए पनि दर्ता गरेर कानुनि हैसियत दिलाउनु पर्दछ । यदि त्यसको गर्ने हो भने एनआरएनए अभियान नेपाल र नेपालीहरुको लागि थप फदायी बन्ने निश्चित छ । 
साथै एनआरएनहरुले सम्बन्धित मुलुकमा आफ्ना व्यक्तिगत, व्यवसायीक तथा संस्थागत गतिविधिहरु गर्दा सम्बन्धित मुलुकको  कानुन, रहनसहन, परंपरा, सामाजिक मुल्यमान्यतालाई सम्मान गर्न उति नै जरुरी छ । एक सामाजिक अभियान र त्यसका अभियन्ताले ति कुराहरुको अमुल्यन गर्न सकिदै । भए गरेमा त्यसको असर सम्बन्धित व्यक्तिलाई मात्र नभएर सिङ्गो अभियानलाई नै पर्ने भएको कारण यस बिषयमा थप सावधानी आवाश्यक छ । 
आप्रवासी नागरिकहरुको सामाजिक सुरक्षाको सवाल
आज विदेश विशेष गरी वैदेशिक रोजगारीमा नै गएर पनि दशकौं बिताउने नेपालीहरुको संख्या उल्लेख्य छ । उनिहरुले आफ्नो जिवनको उर्जावान समय विदेशमा काम गरेर रेमिट्यान्स पठाउदै परिवार पाल्नमा नै विताएका छन् तर शरिरमा उर्जा सकिएर सेवा निवृत्त जिवन विताउने समय खालि हुने गरेका छन् । भरखरै नेपाल सरकारले आवासीय नेपालीहरुका योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरेको छ । कार्यन्वयनमा सबै पक्षको हातेमालो र इमान्दारिता हुने हो भने देश भित्र श्रम गर्ने नागरिकहरुको लागि यो फलदायी हुने देखिन्छ । तर विदेशमा रोजगारी गर्ने ४० लाख नागरिकको सामाजिक सुरक्षाका बिषयमा केहि छलफलहरु हुने गरेका भए पनि ठोस प्रभावकारी कार्यक्रम आउन सकेको छैन । यो अवस्थाले उब्जाएका सवालहरुमा अब घनिभुत छलफल र सुधारको पहल आवाश्यक छ । 
राज्यको नागरिकप्रतिको दायित्व ः सबै नागरिकहरु प्रति राज्यका समान दायित्व रहन्छ । सामाजिक सुरक्षालाई वर्तमान संविधानले नागरिकको नैसर्गिक अधिकारको रुपमा मानेको छ । नेपालमा सरकारी, संस्थान वा सुरक्षा निकायमा सेवा गर्ने नागरिकले सेवा अवधि पुरा गरे पछि सामाजिक सुरक्षा स्वरुप निवृत्तिभरण पाउने व्यवस्था पहिले देखि नै छ, हालै शुरु भएकोकार्यक्रमले निजि तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि समेटेको छ । त्यसले उनिहरुले भविष्य सुरक्षित अनुभूति गर्दछन् र सेवा अवधिमा पुर्ण लगनशिल र आत्मा विश्वासका साथ काम गर्दछन् । तर त्यति नै अवधि विदेशमा काम गरेर देशमा रेमिट्यान्स पठाएर सेवा गरेको अर्को नागरिक सेवा अवधि पुरा गरेर फर्केका नागरिकको लागि राज्यको तर्फबाट त्यस्तो कुनै व्यवस्था छैन । योगदानको हिसाब गर्ने हो भने मुलुक भित्र त्यति नै अवधि काम गर्ने एउटा कर्मचारी भन्दा बढि योेगदान विदेशमा दुख गरेर रेमिट्यान्स पठाउने नागरिकको धेरै बढि हुन्छ । उनिहरुले विदेशमा गएर रोजगारि गरिदिदा राष्ट्रलाई रेमिट्यान्स बाहेक पनि वेरोजगारी, द्धन्द्ध नियन्त्रणा लागयत बिषयमा धेरै अप्रत्यक्ष सहयोग पुगेको हुन्छ । तर त्यो योगदानको मुल्याङकन राज्य व्यवहारिक रुपमा हाल सम्म गर्न सकेको छैन । यसले राज्यले आफ्नै नागरिकहरु प्रति भेदभाव गरिरहेको वा नागरिकहरु प्रति समान व्यवहार गर्न नसकेको प्रष्ट देखिन्छ ।  
विभेदले पार्ने मनोवैज्ञानिक असर ः स्वभावैले विभेद भएको बुझे पनि हिनताबोध र आत्माविश्वास क्षिण हुदै जान्छ । जसको असर सिङ्गो राष्ट्रलाई परिरहेको हुन्छ । त्यसलाई विदेशमा रहदा स्पष्ट महशुश गर्न सकिन्छ । राज्यले दरिलो संरक्षण गरेका मुलुकका नागरिक र प्रयाप्त संरक्षण गर्न नसकेका मुलुकका नागरिकहरु बीचको आत्माविश्वास फरक हुन्छ, उनिहरुको कार्यसम्पादन, सिकाई जस्ता कुराहरुमा असर गरिरहेका हुन्छ । जुन सामान्य जस्तो लागे पनि भयंकर हुन्छ । राज्यले नागरिकहरुको अत्माविश्वास बढाउन सक्नु पर्दछ ।   
उत्पादक क्षेत्रमा लगानी गर्न हिचकिचावट ः नेपाली समाजको विद्यमान चिन्तन भनेको भविष्यको लागि सम्पति जगेडा गर्नु हो । यो नेपालको आर्थिक र सामाजिक विकासको प्रमुख बाधक हो । मान्छेका आधारभूत आवाश्यकताहरु शिक्षा, स्वास्थ्य समेतको सहुलियत व्यवस्था राज्यको तर्फबाट नहुदा नागरिकहरु आर्थिकरुपमा असुरक्षित हुनसक्ने भयले बढिभन्दा बढि व्यक्तिगत सम्पति जोड्न तल्लिन भइरहेका छन् । जग्गा जमिन, सुनचाँदि जोड्ने, नगद बचत गर्ने प्रवृत्तिका कारण नेपालको उत्पादकत्व तथा औधोगिक विकासको गति अत्यन्त शुस्त छ । साथै गलत वा अवैधानिक तवरले सम्पति कमाउन समेत पछि नपर्ने भएका कारण समाजमा अनेकन प्रकारका नकरात्मक गतिवधिहरु प्नि बढिरहेका छन् । आज सरकारले सबै नागरिकहरुको शिक्षा र स्वास्थ्यको व्यवस्था मात्र गरिदिने हो भने नेपालीहरु जसरी पनि सम्पति कमाउने र भएको सम्पतिलाई अनुत्पादकरुपमा निष्कृय राख्ने मानसिकतामा ठुलो परिवर्तन आउने निश्चित छ । त्यस अवस्थामा स्वभाविकरुपमा राज्यप्रति नागरिकको विश्वास बढ्छ, लगानी गर्ने पुँजि जुट्छ, र सामाजिक आर्थिक विकासको गति बढ्दै जान्छ ।  
 रेमिट्यान्सको सदुपयोग 
विश्लेषणहरु र तथ्याङकहरुलाई आधार मान्ने हो भने नेपाल भित्रिने रेमिट्यान्सको ७० प्रतिशत भन्दा बढि रकम व्यापार घाटाको रुपमा विदेशिन्छ । यो एक किसिमले भन्ने हो भने आर्थिकरुपमा बालुमा पानी खन्याए जस्तै हो भन्दा अत्यूक्ति नहोला । ४० औ लाख युवाले विदेशमा पसिना बगाएर भित्र्याएको विदेश मुद्रा दैनिक उपभोगमा मात्र खर्चे सक्ने हो भने रेमिट्यान्स भित्रने छाडेको दिन रित्तो हुने छ हाम्रो अर्थतन्त्र । तसर्थ यसको सहि सदुपयोग अति नै अपिरिहार्य भइसकेको छ । रेमिट्यान्सको अधिकांश हिस्सा उत्पादक क्षेत्रमा लगाएर अर्थतन्त्रलाई दिगो बनाउने र युवाहरुको आप्रवासन छोट्याउने रणनिततिक कार्यक्रम राज्यको अबको मिसन बन्नु पर्दछ र गैरआवासिय नेपाली संघ त्यसको सहयोेगि बन्नु पर्दछ । देशमा योगदानको आधारमा सामाजिक सुरक्षा योजना आइरहदा वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई पनि “योगदान” गराएर लगानी गर्ने र सामाजिक प्रत्याभुति दिने हो भने राज्य र नागरिक सबैको लागि उत्साहप्रद हुन सक्छ । बिमाको लागि मात्र अरबौ संकलन गरेका हरुले देश बनाउन त्यसको कयौ गुणा धेरै रकम संकलन गर्न सक्छन् । त्यसलाई सदुपयोग गरेर देशको अर्थतन्त्रलाई दिगो बनाउने र नागरिकहरुलाई सामाजिक सुरक्षा प्रदान गर्ने दायित्व सरकारको हो । योजनाका मोडल निर्माण, प्राविधिक सहयोग आदीमा गैरआवासीय नेपाली संघले सहयोगि भूमिका खेल्नु पर्दछ ।  
देश र प्रदेशका ठुला र महत्वपुर्ण एजेण्डाहरुमा उल्लेखनिय भुमिका खेलिसकेको गैरआवासीय नेपाली संघले यि ज्वलन्त सवालहरुमा पनि आफ्नो ध्यान केन्द्रित गर्दै आवाश्यक पहल कदमि गर्न सकेमा संघको विश्वशनियता संस्थागत प्रतिष्ठा  उचो हुनेछ । 

-By आर के शर्मा
         



मध्यपूर्वमा एनआरएनएको किन जरुरी ?

विनोद भट्टराई, कतारभाद्र ६, २०७५
मध्यपूर्व विश्व मानचित्रको एउटा महत्वपूर्ण भुगोल हो । गैरआवासीय नेपाली संघको समन्वयमा यस क्षेत्रमा कतार, संयुक्त अरब इमिरेट, साउदी अरयिबा, कुवेत, बहराइन, ओमान, इराक, लेबनान, जोर्डन, इजिप्ट गरी ११ राष्ट्रिय समन्वय परिषद्हरु आबद्ध छन् । कुनै न कुनै रुपमा विश्वको ध्यान तानिरहने सामरिक महत्वको यो क्षेत्र नेपाल र गैरआवासीय नेपालीहरुको लागि त्यत्तिकै महत्पपूर्ण छ ।
पेट्रोलियम पदार्थको अथाह भण्डारको उपयोग गर्दै समृद्धितर्फ लामो फड्को मारिरहेको मध्यपूर्व क्षेत्रले नेपाल सहित विश्वका करोडौलाई रोजगारी दिइरहेको छ । विश्वलाई आवश्यक पर्ने प्रेट्रोलियम पदार्थको अधिकांश हिस्सा पूर्ति गरिरहेकोले यो क्षेत्र विश्वकै आर्थिक केन्द्रको रुपमा समेत रहेको छ ।
नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य क्षेत्र पनि मध्यपूर्व नै हो । २० लाखको हाराहारीमा नेपालीहरु मध्यपूर्व क्षेत्रका विभिन्न मुलुकहरुमा कार्यरत छौं । विशेष गरी नेपाल द्धन्द्धको चपेटामा फसेर अस्तव्यस्त भएको समयमा ठूलो संख्यामा नेपालीहरुलाई रोजगारी दिएर यस क्षेत्रले महत्वपूर्ण सहयोग गरेको छ । वास्तवमा द्धन्द्धकालमा मध्यपूर्व क्षेत्रको रोजगारीले प्रत्यक्ष अर्थतन्त्रमा मात्र टेवा दिएन द्धन्द्धको कारण श्रृजित वेरोजगारीको विकराल स्थितिलाई न्यूनिकरण गर्न मद्दत गरेर नेपाललाई अफल हुनबाट बचायोे ।
गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय वैठक आगामी २४ र २५ अगष्टमा संयुक्त अरब इमिरेटको दुवइमा आयोजना हुन गइरहेको छ परिप्रेक्षमा गैरआवासीय नेपाली अभियानमा अत्यन्त महत्वपूर्ण रहने यस क्षेत्रमा एनआरएनएको महत्वलाई चर्चा गर्नु वान्छनिय ठानिएको छ ।
संस्थागत सहयोग मध्यपूर्वलाई बढि आवाश्यक :
गैरआवासीय नेपाली संघ एउटा सामाजिक अभियान हो । यसले स्थानीय रुपमा र नेपालमा उल्लेख्य संस्थागत सहयोग, सहजिकरणहरु गर्दै आएको छ । एउटा सामाजिक अभियानको रुपमा मानविय तथा कल्याणकारी कार्यहरु एनआरएनएका प्रमुख कार्यहरु हुन् । प्रवासमा नेपालीहरुको सबैभन्दा जनघनत्व रहेको क्षेत्र, सवै भन्दा बढि र जटिल समस्याहरु रहेको क्षेत्र पनि मध्यपुर्व नै हो । ति समस्याहरुलाई तत्कालिनरुपमा समाधान गर्न, दिर्घकालिनरुपमा न्यूनिकरण गर्ने दिशामा प्रभावकारी पहल गर्ने सक्ने हैसियत गैरआवासीय नेपाली संघले राख्दछ ।
स्थापनाकालदेखि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि छ । यस क्षेत्रका एनसीसीहरुले वैदेशिक रोजगारीको समस्याहरुमा सहयोग र सुधारका लागि गरेका अनगिन्ति प्रयासहरु, आइसीसीको स्तरबाट गरिएर सुधार भएका कार्यहरु त्यसका गतिला उदाहरणहरु हुन् । पछिल्लो समयमा खाडिका विभिन्न मुलुकका जेलमा रहेका नेपालीहरुलाई छुटाउन आवाश्यक जरिवाना रकमको “सिड मनि” दिने निर्णय मात्र नभएर सचिवालयमा वैदेशिक रोजगारी हेर्ने अधिकृतको व्यवस्था, शुभयात्रा एप्प लगायतका थुप्रै कार्यहरुले मध्यपुर्वमा एनआरएनएको उपस्थि र महत्वलाई बढाएको छ । यस क्षेत्रमा एनआरएनएको अझ प्रभावकारी उपस्थिति आवाश्यक छ ।
सामाजिक उद्यमशिलता :
देशका सबैभन्दा बढि उर्वर जनशक्ति यस क्षेत्रमा छ । यो जन शक्ति मुलुकको सभ्यता र समुन्नतिको आधार पनि हुन् । यो जनशक्ति एक दिन मुलुक फर्कन्छ । तर प्रवासमा लामो समय विताउनु पर्दा समाज र राष्ट्रको लागि आवाश्यक पर्ने सामाजिक वातावरणको अभाव खड्किरहेको हुन्छ । समयमा नै सामाजिक सांस्कृतिक संरक्षण नगर्ने हो भने कालान्तरमा हाम्रो सामाजिकपन, सम्पन्न संस्कृति र उद्यमशिलता विलाएर जान सक्दछ । एनआरएनए लगायतका संघ संस्थाको उपस्थिति र तिनका गतिविधिहरुले प्रवासमा रहेका युवाहरुको सामाजिकपन, संस्कृतिसँगको सामिपत्य वा अपनत्वलाई कायम राख्न मद्दत गरिरहेका छन् । साथ–साथमा उद्यमशिल उन्मुख वातावरण समेत दिइरहेको छ । त्यसको प्रमुख बाहक एनआरएनए मात्र बन्न सक्ने भएकोले यस क्षेत्रमा एनआरएनए अभियानको अपरिहार्यता कायमै छ ।
सामुहिक लगानीको सबैभन्दा बढि सम्भावना :
सामुहिक लगानीको अवधारणा स–सना लगानीहरुको संयोजनबाट ठुलो पुँजि निर्माण गर्नु हो । संख्यात्मक रुपमा मध्यपूर्व क्षेत्रमा सबै भन्दा बढि एनआरएनहरु छन् । संघमा आबद्ध सदस्यहरुको संख्या पनि उल्लेखनिय छ । प्रभावकारी र विश्वसनिय वातावरण श्रृजना गरेर पुँजि संकलन गर्ने हो भने नियमित आम्दानी गरिरहेका १० औ हजार पंजिकृत सदस्यहरु र २० औ लाख एनआरनहरु रहेको यस क्षेत्रबाट ठुलो पुँजि संकलन गर्न सकिन्छ । जुन वास्तवमा नै समृद्ध नेपाल निर्माणको आधार बन्न सक्दछ ।
२०११–१३ को कार्यकालदेखि नै सामुहिक लगानिको अवधारणा भित्राएर काम गरिरहेको एनआरएनए आइसीसीले वर्तमान कार्यकालमा अझ परिस्कृतरुपमा सामुहिक लगानीको कार्यक्रम अगाडि ल्याउदै गर्दा त्यसको सफलताको महत्वपुर्ण हिस्सेदार मध्यपूर्व क्षेत्र बन्न सक्छ । यस क्षेत्रका नेपालीहरुको लागि पनि आफ्नो आर्थिक हैसियत अनुसारको लगानि गरेर ठूला राष्ट्रिय गौरवका अभियानमा सहभागि हुन पाउनु आफैमा महत्वपुर्ण अवसर हुनेछ ।
राष्ट्र, एनआरएनए र यस क्षेत्रका एनआरएनहरु सबैलाई फाइदा हुने सामुहिक लगानीको अवधारणालाई सहजिकरण र समन्वय गर्न पनि गैरआवासीय नेपाली संघको सक्रिय भूमिका वा उपस्थिति आवश्यक देखिन्छ ।
नेपाल प्रबद्र्धनको अत्याधिक सम्भावना :
मध्यपूर्व क्षेत्र यस्तो क्षेत्र हो जँहा विश्वका प्राय सबै देशका नागरिकहरु कुनै न कुनै क्षेत्रमा कार्यरत छन् । यहाँ फरक फरक परंपरा, सामाजिक मान्यता, संस्कृति, रहन सहन भएका मानिसहरु चाडै नै आपस घुलमिल हुने गर्दछन् । जसले नेपाललाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गरिरहेको छ । आफ्नो सहकर्मीको मुलुक, भाषा, संस्कृति, रहन सहनको बारेमा चासो विभिन्न मुलुकका नागरिहरु मार्फत प्रबद्धर्न गर्न सहजता भएको छ । अनौपचारिक रुपमा भइरहेको प्रर्वद्धनलाई गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्, क्षेत्रिय समितिहरुको संस्थागत पहल प्रयासमा अझ बढि गर्न सकिन्छ ।
विश्वमा नै प्रख्यात पर्यटनहरु :
नेपालको समृद्धिको एउटा प्रमुख क्षेत्र पर्यटनलाई मानिएको छ । अरब क्षेत्रका पर्यटकहरु विश्वमा नै उत्कृृष्ट पर्यटक मानिन्छन् । अझ भनौ पर्यटनले आफुलाई समृद्ध बनाएका विश्का अधिकांश मुलुकहरुका आकर्षक पर्यटक मध्यपुर्व क्षेत्रका नै हुन् । यसक्षेत्रका पर्यटक भित्राउन सक्ने हो भने नेपालको पर्यटन क्षेत्रमा कायापलट नै गर्न सकिन्छ । एनआरएनएले पर्यटन प्रबद्धनलाई आफ्नो एक प्रमुख लक्षको रुपमा लिएर अघि बढिरहदा त्यसको सफलताको लागि यो क्षेत्र अत्यन्त महत्वपुर्ण बन्न सक्दछ । यस क्षेत्रका पर्यटनहरुलाई नेपाल लैजान एनआरएनएका राष्ट्रिय र क्षेत्रिय समितिहरुको महत्वपुर्ण भूमिका खेल्न सक्दछन ।
निर्यात व्यापारको राम्रो सम्भावना :
नेपालको उत्पादनको राम्रो बजार मध्यपूर्व बन्न सक्दछ । राम्रो आर्थिक अवस्था र उच्च क्रयशक्ति भएका उपभोक्ता रहेको मध्यपूर्व क्षेत्रमा हाम्रा सबै छिमेकि राष्ट्र मात्र नभएर यूरोप र अमेरिका क्षेत्रका राष्ट्रहरुले समेत राम्रो व्यापार गरिरहेका छन् । तिनहरु भन्दा गुणस्तरिय उत्पादन सस्तो मुल्यमा दिनसक्ने सम्भावना नेपालसँग छ । त्यसलाई यँहा रहेका व्यवसायी एनआरएनहरुले बिशेष पहल गर्न सक्छन् । त्यसमा संघको सहजिकरण, प्रोत्साहन थप प्रभावकारी बन्न सक्दछ ।
वैदेशिक लगानीको सम्भावना :
मध्यपूर्वका देशहरुको समृद्धिमा महत्वपूर्ण योगदान नेपालीहरुको रहेको छ । ति देश बनाउन रगत पसिना बगाएका नेपालीहरुको देश नेपालको समृद्धिमा सहयोग गर्न, लगानि गर्न उनिहरु स्वभाविकरुपमा तयार हुन्छन् । त्यसको पहल नियोग तथा नेपाल सरकारमार्फत एनआरएनएले गर्न सक्दछ । यि मुलुकहरुमा एनसीसीहरुले विभिन्न रुपमा सामाजिक कार्यहरु गरेर पनि सम्बन्धित मुलुकका नागरिक एवं सम्बन्धित निकायहरुसँग राम्रो सम्बन्ध बनाएका छन् । कहि न कहि त्यसले पनि नेपालमा लगानि भित्राउन मद्दत गरिरहेको छ । यस थप प्रयास गर्ने हो भने असम्भव छैन ।
साथै नेपालमा श्रोत कम भएका, भएको श्रोतलाई पनि उपयोग गर्ने सम्भावना कठिन भएको तर माग र खपत अत्याधिक बढिरहेको चिज पेट्रोलियम पदार्थ हो । त्यसको खानी भएका मध्यपूर्वका मुलुकहरुसँग उच्चस्तरको समन्वय गराएर सहज आपूर्ति मात्र गर्न सक्ने हो भने नेपालको अर्थतन्त्रमा निकै फरक पर्दछ ।
ज्ञान सीप र प्रविधि :
मध्यपुर्व क्षेत्रका एनआरएनहरु कामकाजी युवाहरु हुन् । नेपालबाट अदक्ष, अर्धदक्ष वा दक्षकामदारको रुपमा आएका नेपालीहरु यस क्षेत्रमा आएर काम गर्दा प्रशस्त ज्ञान, सीप, अनुभव र प्रविधि सिकेका छन् । विश्व बजारमा आउने नँया नँया प्रविधि उपभोग गर्ने मध्यपूर्वको बजार हामी नेपालीहरुको लागि पनि ति प्रविधिहरुसँग घुलमिल हुने अवसर बन्ने गरेका छन् ।
यो नेपालको ठूलो सम्पति हो र त्यसलाई नेपालमा संगठितरुपमा स्थानान्तरण उपभोग गरेर देशले ठुलो लाभ लिन सक्छ । एनआरएनएले वर्तमान कार्यकालमा यसलाई एउटा अभियान कै रुपमा अघि बढाइरहेकोले यस कार्यको संबाहक एनआरएनए बन्न सक्दछ ।
गैरआवासीय नेपाली अभियान नेपाल बाहिर रहेका नेपालीहरुको साझा संस्था हो । समग्रमा भन्नु पर्दा यसले गर्ने अधिकांश सामाजिक, मानविय सहयोगहरु मध्यपुर्वमा कार्यरत नेपालहरुलाई आवाश्यक छ, ति नेपालीहरुका समस्याको वकालत गर्ने, माथिल्लो स्तरसम्म पुर्याउने संगठित शक्ति भएकोले पनि मध्यपूर्वमा एनआरएनएको शशक्त उपस्थिति आवाश्यक छ । साथै यसले समन्वय गरेर वा यस संस्थाको माध्यमबाट स्थापित सम्बन्धलाई सदुपयोग गरेर गरिने वित्तिय गतिविधिहरु, आर्थिक लगानी, ज्ञान, सीप र प्रविधि राष्ट्रलाई आवाश्यक छ ।त्यसैले यि आयामहरुलाई उपलब्धिउन्मुख गर्न मध्यपूर्वमा एनआरएनएको दरिलो उपस्थिति आवाश्यक छ ।
http://sansarnews.com/archives/117229
लेखक : गैरआवासीय नेपाली संघका मध्यपुर्व क्षेत्रबाट मनोनित आइसीसी सदस्य हुन्न् ।