एनआरएन एनसीसी कतारको नँया कार्यसमितिका चुनौति

Published on 7th January 2016

                                                                                                                              विनोद भट्टराई

गैरआवासीय नेपाली संघ, रािष्ट्रय समन्वय परिषद् कतारले करिब ३ महिना ढिलाई गरेर नया नेतृत्व पाएकोछ । सेप्टेम्बर २०१५ भित्र कार्यसमिति चयन सम्पन्न गरेर नव निर्वाचित कार्यसमितिको नेतृत्वमा विश्व सम्मेलनमा सहभागिता जनाउने परंपरागत प्रक्रिया प्राविधिकरुपमा कार्यसमिति चयन कार्य हुन नसक्दा तोडिएको थियो । परिणाम २०१५–२०१७ को कार्यसमितिले आफ्नो नेतृत्वमा विश्व सम्मेलन सहभागि हुने अवसर गुमायो साथ साथै “हनिमुन” पिरयड सम्माप्त गरी रफ्तार लिइसक्नु पर्ने समय गुज्रे पछि निर्वाचित भएर महत्वपुर्ण समय अवधिको “डिडक्सन” पनि भोगेको छ ।यद्यपि आइसीसीले  दिएको थप म्याद भित्र सौहार्दपुर्ण वातावरणमा निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति चयन भई आइसीसीबाट मान्यता पाए पछि एनआरएनए एनसीसी कतारका समस्त अभियन्ता तथा शुभेच्छुकहरुमा खुशी छाएको छ भने यस संस्थालाई सधै नकरात्मक दृष्टि मात्र लगाउने, कमजोरी मात्र खोजीरहन तल्लिन आन्तरिक तथा बाह्य प्रवृतिहरुलाई भने पुनः एक पटक प्रयाप्त जवाफ मिलेकोछ । कुनै पनि संस्था आफैमा गलत हुदैन त्यसमा पनि एनआरएनए सबै वर्ग, समुदाय, क्षेत्र अटाउन सक्ने साझा प्रकृतिको संस्था भएकोले यसका उद्देश्य तथा गतिविधिहरु पनि सबैलाई सम्मानपुर्वक समन्वय गर्न सक्ने फराकिलो दायराका छन् । यसको फराकिलोपन या भनौ “साझा” पनलाइृ त्यसरुपमा बुझ्न नसक्नु, उपयोग गर्न नसक्नु सम्बन्धित व्यक्ति वा समुहको कमजोरी हो संस्थाको पटक्कै होइन । साझा संस्थाको जिम्मेबारीमा रहेर त्यस अनुरुप कार्यसम्पादन गर्न चुकेका अपवादका केहि व्यक्तिहरुका क्रियाकलापलाई आधार मानेर सिङ्गो संस्था माथी दोष थोपर्नु कदापी न्यायोचित होइन ।  परिस्थितिले करिब ३ महिना छोटिएको कार्यकाल हाक्ने अभिमत पाएको निर्वाचित कार्यसमिति सामु एकातिर चुनौतिहरुको पहाड र अर्कोतिर अवसरका प्रशस्त सम्भावनाहरु रहेका छन् । कार्यसमिति चयनको क्रममा निकै लामो समय आन्तरिक असमझदारीमा अल्झिएको समाजलाई भावनात्मकरुपमा एकताबद्ध बनाएर वास्तवमा नै एनसीसी मात्र कतारको नेपाली समाजको नेतृत्व गर्ने निर्विकल्प साझा संस्था हो भन्ने सन्देश स्थापित गर्नु पहिलो चुनौति हो । त्यसको लागि कार्यसमिति तथा नेतृत्व हरेक पाइलामा सन्तुलित, पद्धतिसंगत र संस्थागतरुपमा चल्न सक्नु पर्दछ । पद्धतिसंगत र संस्थागत रुपमा गरिएका निर्णय तथा कार्यहरु आफैमा दरिला हुन्छन् र तिनलाई कार्यन्वयन गर्न गराउन थप उर्जा आवाश्यक पर्दैन तर संस्थागत पद्धति बाहिर गएर गरिएका निर्णय वा कार्यहरु भने कहि न कहि कमजोर हुन्छन् र कार्यान्वयनमा अनावाश्यक समय र सामथ्र्य प्रयोग गर्नु पर्छ जुन असफलताको एक कारण बन्न सक्दछ ।अर्को महत्वपुर्ण पक्ष लगनशिलता वा जिम्मबारीबोधको निरन्तरता पनि हो । निर्वाचित भएको केहि अवधि सम्म स्वभावैले टिम जोशीलो हुन्छ, नेतृत्वलाई पनि आँट आउछ र अलिक महत्वकांक्षी योजनाहरु तय गरिन्छ तर समय सधै एकनास रहदैन । संस्थाको आफ्नै कार्यलय र कर्मचारी नभएको परिवेशमा एनसीसी जस्तो संस्थाका नियमित कार्य सम्पादनको लागि मात्र पनि निकै संयमता, लगनशिलता सहितको समय र शक्ति आवाश्यक हुन्छ भने अन्य परियोजना तथा कार्यक्रमहरुलाई २ बर्ष सम्म नियमितरुपमा कार्यन्वयन गर्न निकै चुनौतिपुर्ण छ । विगतलाई नै स्मरण गर्ने हो भने पनि धेरै प्रमुख पदाधिकारीहरु नै पछिल्लो दिनमा निश्क्रिय भएका घटनाहरु ताजै छन् । निर्वाचित हुदाताका आपसमा चिन्नै समय लाग्ने ठुलो टिम क्रमश खिइदै जादा कार्य सम्पादनमा थप कठिनाई हुने गरेकोले त्यो प्रर्वत्तिलाई न्यूनिकरण गर्न आवाश्यक छ । एनसीसी माथि संस्थाका विगत देखिनै गरिदै आइएका समुदाय केन्द्रित नियमित कार्यक्रमहरु, राष्ट्रिय तथा स्थानिय समन्वयात्मक गतिविधिहरु, श्रमिक केन्द्रित कार्यहरु देखि नेपाल प्रबद्र्धन सम्मका कार्यक्रमलाई व्यवस्थित र सन्तुलितरुपमा संचालन गर्नु पर्ने दायित्व रहन्छ । यि सबै जिम्मेबारीलाई पुरा गर्न सिङ्गो टिममा दिगो प्रतिबद्धता अनिवार्य हुन्छ । सामान्यतय संस्थाको नेतृत्वकर्ताले आफ्नो नेतृत्वमा नियमित कार्यहरुका अलवा कम्तिमा पनि एक फरक कार्य गरेर कार्यकाललाई स्मरणिय बनाउने चलन हुन्छ । म संस्थामा आबद्ध भए पश्चातका कार्यकाललाई स्मरण गर्दा पनि नरेन्द्र भाटको कार्यकालमा एनआरएन सांस्कृतिक साँझ आयोजना, एसियन कप मेडलिस्ट दिपक बिष्टको सम्मान तथा त्रिभुन अन्तराष्ट्रिय विमान स्थलमा ट्रली सहयोग महत्वपुर्ण र स्मरणिय छन् । अमृत गुरुङको कार्यकालमा भएका श्रमिक कल्याण केन्द्रित कार्यक्रमहरु, काठमाडौमा पुरुष आश्रय स्थल स्थापनार्थ गरिएको अग्रसरता एनसीसी कतारको इतिहाँसमा सुनौला अक्षरले कुदिएका छन् । मक्सुद आलमको नेतृत्वमा दुतावासमा परामर्श केन्द्र संचालन गरेर ८० हजार भन्दा बढि नेपालीहरुलाई सेवा प्रदान, पहिलोपटक एनआरएन कप फुटबल आयोजना गरि नेपाली खेल प्रबद्धन, राष्ट्रका हरेक विपत्तिमा गरिएको उल्लेखनिय सहयोग, कतार सरकारका विभिन्न निकायमा विस्तार गरिएको संस्थाको पहँुच, पहिलो पटक भव्यरुपमा स्थापना दिवस मनाउदै संस्थापक तथा अग्रजहरुलाई गरिएको सम्मान, संस्थाको प्राविधिक पक्षको मजबुदिकरण तथा सुचना सम्प्रेषणमा अपनाईएकोे नँया प्रणाली आदी निकै महत्वपुर्ण कार्यहरु भएका छन् । विगतका यि महत्वपुर्ण कार्यक्रमहरुलाई समेत निरन्तरता दिदै यो कार्यकाललाई स्मरणिय बनाउने गरी थप कार्यक्रम गर्नु पर्ने चुनौति नँया कार्यसमिति सामु छ । ति चुनौतीहरुलाई चिर्दै सफलतापुर्वक कार्यकाल पुरा गर्ने सबैभन्दा महत्वपुर्ण शक्ति भनेकै संस्थामा आबद्ध सदस्यहरु र अग्रजहरु हुन् । २००९मा नरेन्द्र भाटको नेतृत्वमा एनसीसी गठन हुदा ३ जना मात्र पुर्व अध्यक्षहरु र ९४५ पंजिकृत सदस्यहरु थिए तर आज यो संख्या धेरै बढेको छ । आज एनसीसी ६ जना पुर्व अध्यक्ष तथा सोहि अनुपातमा पुर्व पदाधिकारीहरु, आइसीसीका पुर्व पदाधिकारीहरु छन् उनिहरुको शुभेच्छा र साथले मात्र पनि संस्थालाई धेरै  मजबुद बनाउछ । मेरो व्यक्तिगत देखाईमा केहि अपवाद बाहेक सबै अग्रजहरुले एनसीसी प्रतिको आफ्नो दायित्व निभाइरहनु भएको छ । जसबाट सधैं संस्थाको उन्नतीको पक्षमा सहयोगको अपेक्षा गर्न सकिन्छ, धेर थोर समन्वयमा निर्भर गर्दछ । परिषद् सदस्यहरुको संख्या पनि आज त्यो बेलाको तुलनामा तेब्बर भन्दा बढि छ । सबै सदस्यहरुलाई कतारको परिवेशमा एनसीसीको अहिलेकै श्रोत साधनले पुर्णरुपमा परिचालन गर्न कठिन छ तर एनआरएनएको गतिविधिहरुबाट प्रभावित भएर स्वत स्र्फुत आबद्ध हुने सदस्यहरुको संख्या पनि उल्लेख्य छ जसले एनसीसीलाई धेरै सहयोग गर्न सक्छन् जसलाई समन्वय गर्ने कार्यलाई निरन्तरता दिन कन्जुस्याई गर्न हुदैन । तथापी संस्थाको हितका निम्तीे सबै पक्षमा जिम्मेबारी बोध चाँहि हुनै पर्दछ ।  पक्कै पनि ठुलो भारी नाम्लो लगाएर बोक्ने जिम्मा एनसीसीको नै हो तर हातमा पोका झुण्ड्याएर पछि लाग्ने जिम्मेबारी भने सम्पुर्ण पंजिकृत सदस्यहरुको पनि रहन्छ । ति बोकिएका भारीहरुको सन्तुलन मिलेको छ कि छैन, नाम्लो सहि ठाँउमा बसेको छ कि छैन वा कतै भारी चुहिएको छ भने सम्हाल्ने, सहज बाटो देखाईदिने, एक अर्कालाई मिलेर यात्रा गर्न सन्देश दिने जिम्मेबारी संस्थाका अग्रज तथा पुर्व पदाधिकारीहरुले पनि लिनु पर्दछ । समग्रमा भन्दा एनआरएनए अभियानमा सबै सधै सगै यात्रा गर्नु पर्छ आ–आफ्नो जिम्मेबारी र दायित्वका साथ । आफु  पदमा रहदामात्र जिम्मेबारी रहन्छ छाडे पछि पुर्णरुपमा जिम्मेबारी मुक्त भइन्छ भन्ने सोच यदि हामीमा छ भने त्यसलाई परिवर्तन गर्न आवाश्यक छ । एक सच्चा अभियन्ताको अभियान प्रतिको जिम्मेबारी त्यो अभियान चलुन्जेल रहन्छ न कि पदिय हैसियत रहेसम्म मात्र ।     अर्को तिर नेपाली राजदुतावासको भौतिक संरचना पनि निकै सुदृढ भएको अवस्थामा छ । विगतमा दुतावासले चाहेर पनि समाजलाई कतिपय सहयोग गर्न सक्ने अवस्थामा थिएन तर आज आपसी समझदारीपुर्ण वातावरण बनाएर सहयोग लिन सक्ने प्रशस्त सम्भावनाहरु छन् । विगतको तुलनामा कतार सरकारका निकाय तथा अधिकारीहरु एनआरएनएको बारेमा धेरै परिचित भएको अवस्था छ जसबाट नेपालीहरुको हितमा उल्लेख्य कार्यहरु गर्न सक्ने सम्भावनाहरु छन् त्यसलाई सदुपयोग गर्न एनसीसी चुक्नु हुदैन । आफैमा पनि एनसीसी धेरै व्यवस्थित हुदै गएको अवस्था छ, धेरै कुराहरु संस्थागत भएका छन् । जसलाई निरन्तरता मात्र दिदा पनि एनसीसी करिब करिब कार्यकाल सफल हुने अवस्था छ । पछिल्लो दिनमा बढेको संघ संस्थाहरुको क्रियाशिलता र तिनले एनसीसीलाई गर्ने गरेको सहयोग एनसीसीको महत्वपुण उर्जा हो । फलेको वृक्षलाई सबैले ढुङ्गा हान्छन् भन्ने उक्ति सरह एउटा उचाई प्राप्त संस्थाको भएकोले यस प्रति अपेक्षा बढि हुनु, अपेक्षा अनुरुप नभएमा आलोचना हुनु स्वभाविक नै हो । त्यति मात्र नभएर स्वभावैले आफु काममा सहयोग नगर्ने अनि काम गरिरहेकाहरुको कमजोरी खोतल्दै लोकप्रियताको खेति गर्ने प्रवृत्तिको थोर धेरै सबै समाजमा उपस्थित रहने गर्दछन् कतार पनि त्यसबाट अछुतो छैन । अझ संजाल र सहज पहुँज बनेका अनलाईन मिडियहाहरुले कतिपय अवस्थामा त्यस्ता प्रवृत्तिहरुलाई प्रोहोत्साहित गर्ने गरेका छन् ।  यि सबैलाई चिर्न उचित संस्थागत परामर्शका लिएर सकरात्मक सोच, संयमताका साथ लगनशिल भएर कार्य गर्ने दृढ सङकल्पका साथ लागि परेमा अवश्य पनि एनसीसी कतारले इतिहाँसमा अर्को एक सुनौलौ पाना थप्नेमा कुनै दुविधा छै्न ।

(भट्टराई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका निवर्तमान महासचिव हुन । )

एमआरपी वितरणमा एनआरएनए कतारको प्रयास, दुतावासको उदासिनता

Published on 21st January 2015

 विनोद भट्टराई

ICAO को प्रावधान बमोजिम आगामी २४ नोभेम्बर बाट हस्त लिखित राहदानी पुर्णरुपमा विस्थापित गरि
मेसिन रिडेबल पासपोर्ट प्रयोगमा ल्याइसक्नु पर्ने बाध्यता छ । नेपाल सरकारले त्यसमा आफ्नो प्रतिबद्धता सहित २०१०बाट एमआरपी वितरण गरिरहेको छ । देशको जनसंख्याको ठुलो हिस्सा विदेशमा रहेको र पासपोर्ट विदेश यात्रा सँग प्रत्यक्ष सम्बन्ध राख्ने हुदा आवेदन र वितरणको समस्या विदेशमा अझ बढि छ । पासपोर्ट वितरण सरकारको जिम्मेबारी हो । नागरिकलाई सहज तरिकाले पासपोर्ट वितरणको समयमै योजना बनाएर कार्यन्वयन गरी तथा समस्यालाई न्यूनिकरण गर्न सक्नु पर्दथ्यो तर त्यस्तो देखिएन । संसारका अधिकांश मुलुकहरुले बषौ  देखि प्रयोगमा ल्याइसकेको मेसिन रिडेबल पासपोर्ट आइकाआको तागेता पछि प्रयोगमा ल्याउन थाल्नुलाई नै ठुलो उपलब्धिको रुपमा लिएर नेपालले आफ्नै गतिमा काम गरिरहेकोछ । सिमित समय भित्र लाखौ व्यक्तिहरुका रहादानी बदल्नुपर्ने कार्यलाई गम्भीररुपमा लिएर काम नगरिएकै कारण हजारौ नेपालीहरुले अनेकौ सास्ती भोग्न बाध्यछन् । राहदानी समयमा नआएकै कयौ नेपालीहरुले आफ्नो रोजगारी गुमाएका, कानुनी हैसियत गुमाएर भौतिक, आर्थिक, मानसिक सँजाय भोग्नु परेका कैयौ घटनाहरु सामुन्ने देख्दा पनि त्यस प्रति सम्बन्धित पक्षले गम्भिरता नदेखिनु नेपालीहरुको बिडम्बना हो । लाखौ नागरिकको रोजिरोटिसँग प्रत्यक्ष सम्बन्ध राख्ने राहदानी वितरणमा विदेश स्थित नियोगहरुको पनि उस्तै उदाशिनताछ । जसको एक उदाहरण हो कतार को दोहा स्थित नेपाली राजदुतावास । 
यस बिषयमा चासो देखाउदै सहकार्य गर्न छलफलको लागि निकै समन्वय गरे पश्चात १२ फरवरी २०१४मा नेपाली रादुतावासका कार्यबहाक राजदुत सहितका अधिकारीहरु सँग एनआरएनए कतारले एक अन्तरक्रिया गर्न सफल भयो । जुन विशेष गरी पासपोर्ट आवेदन र वितरणलाई सहजीकरण गर्ने बिषयमा केन्द्रित थियो । तथापि  कतारका नेपालीहरुका अन्य समस्याका बिषयमा समेत छलफल भए । एमआरपी आवेदन तथा वितरणलाई सहज बनाउन एनसीसीले परामर्श केन्द्र स्थापना गर्ने, दुतावासले घुम्ती आवेदन संकलन शिविर संचालन गर्ने जसमा एनसीसीले समन्वय तथा स्वयंसेवक उपलव्ध गराएर सहयोग गर्ने लगायतका समन्वयात्मक निष्कर्ष सहित छलफल सम्पन्न हुदा स्वभावत उत्साह जागेको थियो । त्यहि छलफलका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने क्रममा एनआरएनए एनसीसी कतारले अप्रिल १, २०१४ बाट पासपोर्ट आवेदन सहजीकरण तथा पिडित श्रमिकहरुलाई आवाश्यक सहयोगको लागि एकजना नियमित परामर्सदाता स्वयंसेवक नियुक्त गरी दुतावासमा परामर्श केन्द्र स्थापना गर्यो । जसबाट एनआरएनसीसी कतारका पदाधिकारीहरुको समेत स्वयंसेवामा दैनिक ३०० को हाराहरीमा नेपालीहरुले निशुल्क सेवा प्राप्त गरिरहेकाछन् । 
साथ साथै दुतावाससँग घुम्ती शिविर आयोजनको लागि दसतावास सँग निरन्तर छलफल तथा समन्वय गरिरहदा  समेत एक पनि शिविर आयोजना हुन नसकेपछि एनआरएनए एनसीसी कतारले राहदानीको समस्यालाई न्यूनिकरण गर्न सहयोग गर्ने प्रतिबद्धता सहित १२ मई २०१४मा लिखित रुपमानै केहि उपायहरु सुझायो ।  जुन यस प्रकार थिए । 

१) पासपोर्ट आवेदन लिने कार्य विदाको दिन (शुक्रबार) समेत संचालन गर्नु पर्ने । त्यसको लागि दुतावासले आवाश्यक कर्मचारीलाई खटाएर संचालन गरेमा एनआरएनए एनसीसी कतार आफ्नो स्वयंसेवक सहित ५ जना जनशक्ति उपलब्ध गराउनेछ ।

२) नेपालीहरु धेरै भएको कम्पनीमा दुतावासले पहल गरेर ति कम्पनीका उच्च कर्मचारीहरु सँग समन्वय गरि कम्पनी बाट नै फर्म भरेर ल्याउने र दुतावासले जाँच गरि बुझ्ने कार्य गर्दा निकै चाप घटने भएकोले त्यो उपायका बारेमा समेत प्रयास गरिनु पर्ने ।
३)कम्पनीको आधिकारीक पिआरओले सम्बन्धित कम्पनीका कामदारहरुको आवेदन प्रक्रिया पुरा गरेर लिएर आएमा आवेदन बुझिदिने तर पासपोर्ट लिन भने वाहाक आफैलाई बोलाउने गर्दा पनि चाप नियन्त्रण हुन्छ र दुख पाउने नेपालीहरुको संख्या घटने भएकोले त्यो उपायलाई पनि अपनाउनु पर्ने ।

४) दुतावासले नै फर्म भरिदिने व्यवस्था गर्न सकिएमा त्रुटि र त्यसबाट श्रृजित समस्याहरुलाई न्यूनिकरण हुने भएकोले यसका बारेमा समेत छलफल गरि समाधानको लागि अधिकतम प्रयास गरिनु पर्ने ।
एनआरएनएका यि उपायहरु कार्यान्वयन गरेर नेपालीहरुलाई सहज तरिकाले राहदानी उपलब्ध गराउने अनुरोधको प्रतिउत्तरमा दुतावास भवनको वरीपरी रहेको खालि जग्गामा टहरा बनाइदिने अनुरोध प्राप्त भयो तर उपायहरु घाममा सुकाइए । 
नेपालीहरुको भलाईका लागी क्रियाशिलसाझा साझा तथा अग्रणी संस्था भएकै कारण आफ्नो कर्तवयबाट विमुख नभईकन एनसीसीले दुतावासको चापलाई न्यूनिकरण गर्न स्थापित गरेको एनआरएनए परामर्श केन्द्रलाई समेत दुतावासले अपेक्षित सहयोग गरेकोछैन । समझदारी बमोजिम पासपोर्ट सहजीकरण तथा पिडित नेपालीहरुका कामलाई थाति राखेर एनआरएनएको स्वयंसेवकलाई दुतावासका अन्य कार्यलयीय काम गराउने तर सधै त्यहि कार्यलय परिसरमा बसेर सहयोग गरिरहेको स्वयंसेवकलाई खानेपानीको समेत व्यवस्था नगर्नुले नै दुतावासको नियतलाई उजागर गर्दछ । दुतावासको माथिल्लो तलामा के एफ सी र बारबी क्यू पार्र्टि चल्दै गर्दा तल्लो तलामा बसेर सहयोग गरिरहेका कर्मचारीहरु तिर्खा मेटाउने पानीको किन्न काम छाडेर मार्केट जानु पर्ने वातावारणमा दिइने सेवाको प्रभावकारीता सहजै अनुमान गर्न सकिन्छ । यद्यपी नेपालीहरुको भलाईका खातिर काम गर्नू आफ्नो कर्तव्य सम्झेर एनआरएनए एनसीसीकतारले हाल सम्म सो परामर्श केन्द्र संचालन गरिरहेकोछ । जसबाट हाल सम्म ७५ हजार भन्दा बढि नेपालीहरुले सेवा लिइसकेकाछन् ।  
१२ फरबरी २०१४ भन्दा पनि पहिला बाट छलफल शुरु गरिएको घुम्ति आवेदन संकलन शिविर निकै पापड पेले पछि बल्ल बल्ल ४ जुलाई २०१४ मा पहिलो र १८ जुलाई २०१४मा दोश्रो पटक आयोजना भयो । पहिलोमा १७६ दोश्रोमा ३३७ आवेदन संकलन गरियो तर दुतावास तेश्रो शिविर एनआरएनको संयोजनमा गर्न तयार भएन । स्थानको समस्या रहने कतारमा अल मिस्नाद सर्भिसेज कम्पनीले पासपोर्ट आवेदन संकलन नसकिए सम्मको लागि सुरक्षित स्थान उपलव्ध गराएको थियो । त्यसमा सहयोगी संस्थाको रुपमा संन्ध्या गु्रपले सहयोग गरेको थियो । तथापि दुतावासको उदानितामा सोे सुरक्षित स्थानलाई २ पटक भन्दा बढि उपयोग गर्न सकिएन । सो स्थानमा कम्तिमा महिनाको १ शुक्रबार नियमित आवेदन शिविर संचालन गर्न दुतावासलाई गरिएको अनुनयले काम नगरे पछि आवेदन संकलन शिवरलाई स्थगित गर्न एनसीसी बाध्य भयो किन भने त्यो कार्य दुतावासको अपस्थिति बिना सम्भव थिएन । भएका शिविरलाई एकातिर दुतावासले आयोजना गरेको (संयोजनमा एनसीसीको भुमिकालाई लुकाएर भनेर प्रचार गरियो भने अर्कोतिर आवेदक कम भएको दोष एनसीसीलाई थोपर्ने काम भयो तर पहिलो भन्दा दोश्रो शिविरमा आवेक दोब्बर भएको तेश्रोमा अझ बढ्ने अवस्थालाई नजर अन्दाज गरियो जुन हजारौै नेपालीहरुको हित विपरित थियो । पासपोर्ट सहजीकरणको लागि एनआरएनए एनसीसीको एक महत्वपुर्ण प्रयास थियो जसमा विभिन्न संघ संस्थाहरुले उल्लेख्य सहयोग गरिरहेका थिए । आवेदकहरु बीचमा सहजताको अनुभूति हुन थालेको थियो तर बिचमै त्यो अनुभूति तुषारापात भयो, महिनौ सम्म “अर्को शिविर कहिले हुन्छ ?” भनेर फोनहरु आइरहेका थिए तर एनसीसी नाजवाफ बन्यो दुतावासको सहयोगको अभावमा । 
समस्या पासपोर्ट आवेदनको मात्र हैन वितरणको अवस्था पनि उत्तिकै विकराल छन् । आवेद दिएको पासपोर्ट बनेर आएर दराजमा महिनौ रहन्छ तर आवेदकलाई तेरो पासपोर्ट आएको छैन भने र पटक पटक फर्काइन्छ । परिणाम उसको आवासिय अनुमति पत्र  नविकरण हुदैन, अवैध हुन्छ, जागिर जान्छ, आकस्मिक अवस्थामा घर जान पाउदैन, दोहोरो शुल्क तिरेर आवेदन दिन लगाइन्छ र आर्थिक, भौतिक, मानसिक सँजाय दिइन्छ । यसलाई न्यूनिकरण गर्न पटक पटकको छलफल पछि शुक्रबार राहदानी वितरण गर्न दुतावास राजी भयोर विगत केहि महिना देखि शुक्रबार राहदानी वितरणकार्य जारीछ जसबाट प्रत्येक शुक्रबार २०० देखि ७०० सम्म नेपालीहरुले सेवा लिने गरेकाछन् । त्यो पनि व्यवस्थित छैन, व्यवस्थापन गर्ने अवधारणा पनि देखिदैन, यथास्थिति जसरी हुन्छ चलाउदै लैजाने भन्दा एक कदम अगाडी बढेर प्रभावकारी वितरणको चाँजो मिलाउने योजना शुन्य देखिन्छ ।  विकराल स्थितिलाई सहयोग गर्न एनसीसीले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर हरेक हप्ता स्वयंसेवकहरु पठाई पासपोर्ट वितरणमा पनि सहयोग गरिरहेकोछ । हाल सम्म पासपोर्ट वितरणमा सहयोग गर्ने संस्थाहरुको विवरण यस प्रकारछ । 
मिति संस्था स्वयंसेवक संख्या जम्मा सेवाग्राहि

  • सेप्टेम्बर  – ५, अक्टोबर १० सिराह सेवा समिति ४ जना 
  • २४ सेप्टेम्बर – दुतावास बन्द   
  • ३१ अक्टोबर २०१४ प्रवासी झापाली सम्पर्क मञ्च ७ जना  
  • ७ नोभेम्बर २०१४ अर्घाखाँचि सेवा समाज ५ जना 
  • १४ नोभेम्बर २०१४ स्याङजा सहयोग समाज ५ जना 
  • २१ नोभेम्बर २०१४ पाँचथर सेवा समाज ७ जना  
  • २८ नोभेम्बर २०१४ म्याग्दी सेवा समाज ४ जना  
  • ५ डिसेम्बर २०१४ गुल्मी सेवा समाज ९ जना  
  • १२ डिसेम्बर २०१४ पर्वत युवा सेवा समाज ५ जना  
  • १९ डिसेम्बर २०१४ कास्की आर्दश सेवा समाज ८ जना  
  • २६डिसेम्बर २०१४ नेपाली मुस्लिम समाज १० जना  
  • २ जनवरी २०१५ नेपाली जनसम्पर्क समिति १५ जना  
  • ९ जनवरी २०१५ प्रवासी नेपाली मञ्च कतार १२ जना  
  • १६जनवरी २०१५ मोरङसुनसरी सेवा समाज ७ जना  


अन्य संघ संस्थाहरु क्रमिकरुपमा स्वयंसेवक पठाएर सहयोग गर्ने योजनामा छन् ।
नेपाली दुतावास कतारबाट एमआरपी आवेदन तथा वितरणको काम भइरहेकोछ, हजारौ नेपालीहरुले यहाबाट राहानी लिइसकेकाछन् तर अत्याधिक झन्झट र कठिनाइ भोगेर । सेवाग्राहि मात्र होइन दुतावासको अव्यवस्थाका कारण स्वयं कर्मचारीहरु पनि समस्यामा देखिन्छन् । अत्याधिक कामको चापको काराण विदाको समयमा समयमा समेत काम  गर्दा पनि समस्या जस्ताको तस्तैछ । दुतावासले बनाउने योजना तथा कार्यहरु सेवाग्राहिको हितमा भन्दा आफ्नो सहजताको लागि केन्द्रित देखिएकै कारण चाप न्यूनिकरण हुन सकेको छैन ।

कतारको परिवेसिमा दुतावासका र समुदायको आपसी समन्वयको इतिहाँस विगत देखि नै राम्रै रहने गरेको अग्रजहरुबाट सुन्ने गरेकाहौं । नेपालीहरुलाई सहयोग हुने कुनै पनि कार्य अझ दुताव।सले आह्रवान गरे पछि कतारका संघ संस्था, व्यवसायी, समाजसेवि सबैले हार्दिकताका साथ हातेमालो गर्ने गरेको परम्पराछ कतारमा । दुतावास भन्दा अगाडीबाट स्थापित हुन थालेको कतारको नेपाली समाज वास्तवमा मनकारी छ , आर्थिक, भौतिक, नैतिक सबै प्रकारका सहयोगको लागि एकठाउमा उभिने संस्कार कमजोरी पक्कै होइन । तर प्रवासमा नागरिकहरुको अभिभावकको स्थापित राज्यको निकाय एकातिर आफ्नै अव्यवस्था देखाएर पन्छने अर्कोतिर सरकारमा दर्ता भएका संस्थालाई नै नचिन्ने अनि समुदायले गरेका सहयोग र समन्वयात्मक कार्यहरुले नै  अवमुल्यन भइरहनु बिडम्बना नै हो भन्दा अन्यथा नहोला ।  

(भट्टराई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव हुन । )

वैदेशिक रोजगारीका आयामहरु

Published on 12 May 2014

विनोद भट्टराई


नेपालीहरु वैदेशिक रोजगारीमा जाने क्रम ९०को दशक तिव्र भएको तथ्यहरु छन् । दशक अघि सम्म वैदेशिक रोजगारी एउटा व्यक्तीको निजि तथा वैदेशिक रोजगार व्यवसायीहरुको व्यवसायीक मामिलामा सिमित थियो तर आज यो राष्ट्रका सबै तह तप्का र क्षेत्रको सरोकारको बिषय बनिसकेको छ । वैदेशिक रोजगार आज रेमिट्यान्स भित्रयाउने श्रोतमा मात्र सिमित छैन । यसले आर्थिक, सामाजिक, सांस्कृतिक आदी क्षेत्रमा थुप्रै प्रभावहरु पारिरहेकोछ ।

वेरोजगारी समस्यालाई राहत, अर्थतन्त्रलाई टेवा 
वैदेशिक रोजगारबाट प्राप्त विदेशि मुद्रा आज राष्ट्रको अर्थतन्त्र धान्ने एक प्रमुख आधार बनेकोछ । मुलुक आन्तरिक द्धन्द्धमा फसेको संक्रमणकालिन अवस्थालाई आर्थिक र राजनैनिकरुपमा असफलहुनबाट बचाउने प्रमुख आधार वैदेशिक रोजगारी बन्यो । करिब २० लाख युवाहरु मुलुक भित्र वेरोजगार भएर रहेको भए मुलुकको आर्थिक, सामाजिक, राजनैतिक अवस्था अझ नाजुक हुने थियो । आर्थिक अभावले श्रृजना गर्ने अपराधिक तथा हिंसात्मक गतिविधिले मुलुकलाई उक्सनै कठिन हुने अवस्थामा पुग्नबाट वैदेशिक रोजगारी बचाएकोछ । साथमा मुलुककमा भएका भौतिक पुर्वाधारहरु, हजारौ नागरिकलाई रोजगारी दिइरहेका उद्योगधन्दा, कल कारखानाहरु द्धन्दको शिकार भइरहदा वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले मुलुकलाई आर्थिकरुपमा असफल हुनबाट बचायो । राज्यका आर्थिक तथा विकासका गतिविधिहरुले गति लिन नसकिरहेका अवस्थामा निजि क्षेत्रबाट देशका कुना कुनामा उल्लेख्य विकास कार्यहरु भए । गाँउ गाउमा सडक, पुल, भवनहरु निर्माण भइरहेकाछन् । विभिन्न माध्यामबाट साना ठुला क्षेत्रमा विदेशमा रहेका नेपालीहरुले लगानी गर्दै योगदान गरिरहेका छन् । यसको समेत परिणाम मान्नु पर्दछ मुलुक राजनैतिक द्धन्दबाट शान्ति र लोकतन्त्रको बाटोमा लाग्न सक्यो र यो गन्तव्यमा पुग्ने विश्वास नेपालीहरुमाछ । 
 एनआरएनए अभियानको एक प्रमुख आधार ः
गैरआवासीय नेपाली संघको स्थापनाको एक दरिलो आधार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको संख्या पनि थियो । गैरआवासीय नेपाली संघको स्थापना भन्दा धेरै अगाडी देखि बैदेशिक रोजगारीको क्रममा नेपालीहरु विदेशिने गरेको भएपनि विश्वव्यापी रुपमा संगठित हुन सकेका थिएनन् । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको सामुहिक प्रयासबाट गैरआवासीय नेपाली संघको स्थापना भए सँगै वैदेशिक रोजगारीमा रहेका नेपालीहरु पनि संगठित रुपमा त्यस अभियानमा सहभागि बन्न थाले र आज गैरआवासीय नेपाली अभियान र वैदेशिक रोजगार आपसका पुरक जस्तै भएकाछन् । गैरआवासीय नेपालीहरुको कुल संख्याको ७० प्रतिशत भन्दा बढि संख्या बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको छ । संख्यातमक सहभागिता र सकृयताका हिसाबले पनि खाडि, मलेसिया, कोरिया जस्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बाहुल्यता रहेका मुलुकका एनआरएनएहरुको सक्रियाता अगाडी रहेकोछ । अन्य भुगोलको भन्दा फरक पकृतिका मुद्धाहरुका र संवेदनशिल परिस्थितिहरु भएको यो क्षेत्र एनआरएनए अभियानको एक महत्वपुर्ण पाटोको रुपमा रहेकोछ ।
स्थापनाकाल देखि नै एनआरएनएको महत्वपुर्ण जिम्मेबारीहरुमा यस क्षेत्रले स्थान पाउने गरेकोछ । संघले विभिन्न अवसरमा गर्ने घोषणा तथा अवधारणाहरुमा सुरक्षित आप्रवासन तथा मर्यादित वैदेशिक रोजगारका पक्षमा प्रमुखताका साथ आवाजहरु उठाउने गरेका छन् । त्यतिमात्र नभएर मध्यपुर्व र मलेसिया जस्ता मुलुकहरुमा क्रियाशिल संघका राष्ट्रिय समन्वय परिषद्हरु आफ्ना अधिकांश गतिविधिहरु वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा नै केन्द्रित गरेर प्रशस्त कार्यहरु गरिरहेका छन् । विभिन्न समयमा संघले सरकारलाई दिएको दवावले वैदेशिक रोजगारीमा रहेका एनआरएनहरुको हितमा उल्लेख्य कार्यहरुको लागि सहयोग पुगेका उदाहरणहरु प्रशस्त छन् ।
संघले वैदेशिक रोजगार तथा श्रमिक कल्याणका क्षेत्रमा कार्य गर्नको लागि छुट्टै समिति नै बनाएर कार्य गरिरहेकोछ । उल्लेख्य संख्यामा नेपालीहरु रहेको मुलुकमा दुतावास नहुदा नेपालीहरुको अभिभावक संस्थाको रुपमा कार्य सम्पादन गर्ने, दुतावास स्थापनार्थ दवाव दिने देखि लिएर पछिल्लो समयमा दुतावासले प्रयाप्त सेवा दिन नसकिरहेको अवस्थामा क्याम्पिङ गरेर तथा सेवा केन्द्र नै खोलेर  नेपालीहरुका राहदानि आवेदन फारम भर्ने सम्मका कार्यमा एनआरएनएले भूमिका खेलिरहेको छ । वैदेशिक रोजगारीको दिर्घकालीन व्यवस्थापनको लागि विभिन्न समयमा उठाएका आवाज देखि नेपालीहरुलाई आईपरेका आपत विपतमा तत्कालिन राहत, उद्धार तथा सहयोग स्वरुप संघले गरेका असंख्य गतिविधिहरु आंशिक रुपमा भए पनि नेपालीहरुलाई राहत दिइरहेको छ । संघका वर्तमान अध्यक्ष शेष घलेको बिशेष पहलमा स्थापना गरिएकोे बैदेशिक रोजगार राहात कोषले श्रमिक कल्याणका क्षेत्रमा थप भुमिका खेल्ने निश्चित छ ।
आज राज्य तथा वैदेशिक रोजगारमा सरोकार राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुले समेत गैरआवासीय नेपाली संघ सँग सहकार्य गरिरहेको अवस्था छ । राज्यले बैदेशिक रोजगार सम्बन्धि निति निर्माणमा गैरआवासीय नेपाली संघलाई सहभागी गराउन शुरु गरेकोछ । एम्नेस्टी इन्टरनेस्लन, आइएलओ, आइटियुसी जस्ता अन्तराष्ट्रिय संस्थाहरु, रोजगारदाता मुलुकका सरकारी निकायहरु तथा अधिकारवादि संस्थाहरु देखि विभिन्न संचार संस्थाहरु समेत एनआरएनएको सम्पर्कमा रहेर सुरक्षित आप्रवासनका बिषयमा सहकार्य इच्छुक छन् । यसले एकातिर एनआरएनएको महत्वलाई थप उचाई प्रदान गरेकोछ भने वैदेशिक रोजगारीमा भएका अव्यवस्था तथा समस्याहरुलाई न्यूनिकरण गर्न उल्लेख्य सहयोग पुगेको छ । वास्तवमा एनआरएनए अभियानलाई अगाडी बढाउन वैदेशिक रोजगारीमा रहेका नेपालीहरुकोे भूमिका तथा वैदेशिक रोजगारिका समस्याहरुलाई उठान गरि राज्यलाई दवाव दिनको लागि एनआरएनएको भूमिका उत्तिकै महत्वपुर्ण रहेकाकेछ । गैरआवासीय नेपाली संघ र वैदेशिक रोजगारको सम्बन्ध अपरिहार्य सावित भइसकेकोछ र यसको निरन्तरता सबैपक्षको हितमा देखिन्छ ।
 कला, संस्कृति, पर्यटन प्रवद्धन तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा भुमिका ः
केहि दशक अगाडी सम्म हाम्रो बुझाइमा पर्यटन वा भ्रमण बलियो आर्थिक अवस्था भएका विशेष गरि पश्चिमा मुलुकका नागरिकहरुले पैसा खर्च गर्ने कार्यको रुपमा चित्रित थियो । समयको परिवर्तनसँग आज पर्यटन, भ्रमण वा विदा मनाउने संस्कार हामी नेपालीहरुको समेत विकसित भइरहेको छ । विगतमा आफन्त भेटघाट र पातलो धार्मिक भ्रमणमा सिमित नेपाली समाजमा आज धार्मिक, सामाजिक, व्यवसायीक, शैक्षिक तथा मनोरञ्जनात्मक भ्रमण गर्ने क्रम ह्वात्तै बढेको छ । जसले आन्तरिक तथा नेपालबाट बाहिरिने पर्यटनमा निकै विस्तार गरेको छ ।  
यो यतिमा मात्र सिमित छैन । बदलिदो विश्व परिवेश तथा व्यापक आप्रवासनले पर्यटनमा ठुलो प्रभाव पारेको छ । नेपालको परिवेशमा वैदेशिक रोजगारी एउटा प्रमुख कारण हो ।  १ या २ बर्ष वैदेशिक रोजगारी गरेर विदामा घर आएको अधिकांश युवा आफ्नो आर्थिक हैसियत अनुसार परिवारका साथ देश या विदेश घुम्न जाने संस्कार नै बनि सकेको छ । अझ पछिल्लो समयमा आफु कार्यरत मुलुकमा आफ्ना परिवारलाई घुमाउन लैजाने परिपाटि पनि निकै व्यापक छ । वैदेशिक रोजगारीमा विभिन्न मुलुकका नागरिकहरु सँग कार्य गर्दा विकसित सम्बन्धले एक अर्काका मुलुकका बारेमा जानकारी गराएर घुम्न जान प्रेरित गर्ने क्रमले पनि पर्यटनलाई टेवा पुगिरहेको अवस्था छ । यसबाट परम्परागत भन्दा फरक भुगोलका पर्यटनहरुलाई भित्र्याउन मद्दत पुगेको छ । विगतमा आफ्नै मुलुकको फरक भुगोलमा समेत आफन्त बाहेक परिचित नहुने सर्वसाधारण नेपालीहरुका अहिले देशका सबै क्षेत्र तथा विभिन्न मुलुकहरुमा समेत उल्लेख्य संख्यामा साथीभाईहरु रहेका हुन्छन् । यो वैदेशिक रोजगारले ल्याएको परिवर्तन हो ।
वैदेशिक रोगजारीले स्थापना गरेको अन्तराष्ट्रिय सम्बन्धले आज नेपाली कला संस्कृति र भेषभुषाको प्रवद्र्धनमा पनि निकै सहयोग गरेको छ । नेपालीहरुको उपस्थिति रहेका हरेक मुलुकहरुमा आज थुप्रै सांस्कृतिक गतिविधिहरु हुने गरेका छन्  । त्यसले एकातिर स्वयं घर परिवार भन्दा टाढा रहेका नेपालीहरुलार्य आफ्नो भेष भुषा र संस्कृति प्रतिको आस्था र सम्मानलाई कायम राखेको छ भने अर्को तिर नेपाली संकृतिलाई विश्वव्यापिकरण गर्न मद्दत भईरहेको छ। 


प्रवासमा संस्थागत गतिविधि

आफ्ना छिमेकिको मलामी तथा लङगौटियाहरुको जन्ती जान नपाएको पिडा बोकेर भए पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले  प्रवासबाटै उल्लेख्य सामाजिक गतिविहिरु गरिरहेकाछन् । अधुरो पढाई छाडेर विदेशिएका धेरै युवाहरुले र्कमभुमिमा आएर नै संस्थागत गतिविधिमा सहभागि भएको अनुभव बताउने गरेका छन् । प्रवासमा आफ्नो रोजगारीको अलवा विभिन्न भुगोल, समुदाय, बिचार, संस्कृतिका आधारमा स्थापित संघ संस्थामा आबद्ध भएर सामाजिक कार्यहरुमा क्रियाशिल युवाहरुलाई यो अतिरिक्त चौतारी बन्ने गरेकोछ । यसले युवाहरुमा सामाजिक भावना विकास गराइ थुप्रै ज्ञान तथा अनुभवहरु  प्रदान गरेकोछ, घर परिवार भन्दा टाढा रहदाको अवस्थामा हुन सक्ने न्यास्रोबाट मुक्त गराई मानसिक तथा शारिरिकरुपमा स्वस्थ बन्न मद्दत गरिरहेकोछ, फुर्सदको समयमा आवासमा नै बस्दा दिक्क भइ समय काट्न विभिन्न गलत क्रियाकलापमा लाग्न बाट जोगाएकोछ, सामाजिक या संस्थागत सहकार्यको क्रममा स्थापित सम्बन्धले व्यवसायीक तथा व्यक्तिगत जिवनमा समेत साझेदारी तथा सहकार्य नया मार्ग स्थापित गर्ने गरेको छ । कतिपय युवा युवतिहरुले घर परिवारमा रहदा समेत सहभागि नभएका आफ्ना परंपरागत मौलिक सांस्कृतिक गतिविधिहरुमा समेत प्रवासमा नै आएर सहभागि गराउन थालेका अनुभवरु समेत सुन्न पाइएकोछ । यसबाट सहज नै अनुमान गर्न सकिन्छ कि वैदशिक रोजगारीले सामाजिक, सांस्कृतिक रुपमा समेत युवाहरुलाई थुप्रै अनुभव र शिक्षा सिकाएकोछ ।         
  

सामुहिक लगानी तथा उद्यमशिलता उन्मुख वातावरण

  निःसदेन्ह वैदेशिक रोजगारी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार हो । तर यसको उपयोग उत्पादनमुलक क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा भइरहेको र दिर्घकालिनरुपमा राष्ट्रको हितमा प्रयोग हुन नसकेको तथ्याङकहरु आइरहेकाछन् । राष्ट्रले रेमिट्यान्सबाट भित्रिएको विदेशि मुद्रालाई उत्पादनमुलक तथा विकास क्षेत्रमालगाएर पुन बाहिरिन नदिने ठोस निति र कार्यक्रम दिन नसकिरहेको अवस्थामा स्वयं वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आफ्नो स्तरमा उल्लेख्य प्रयास गरेकाछन् ।  आफ्ना र परिवारका आधारभूत आवाश्यकताहरुलाई पुरा गरेर बचेको पँुजिलाई आपसको समुह बनाउदै विभिन्न लघु परियोजनाहरु मर्फत लगानी गरेर उद्यमशिलतातर्फ अग्रसर भइरहेकाछन् । आज गाउ गाउमा साना उद्योग, पशुपालन, आधुनिक कृषिहरुको संख्या बढिरहेकोछ । वैदेशिक रोजगारीको क्रममा भेट भएका मित्रहरुको समुह बनाएर सानो सानो पुजीलाई संकलन गरेर शुरु गरिएका यस्ता कार्यहरु राष्ट्रलाई उल्लेख्य योगदान दिइरहेकोछ । पुजिको साथमा विदेशमा सिकेको सिप तथा आर्जन गरेको व्यवस्थापकिय तथा व्यापार प्रवद्धनको अनुभवलाई समेत उपयोग गरेर गरिने भएकाले यस्ता परियोजनाहरुमा जोखिम न्यून हुने गरेकोछ र भविष्यमा यसले राष्ट्रलाई ठुलो टेवा दिने सम्भावनाछ ।  
सावधानीः

वैदेशिक रोजगारीका सबै सकरात्मक पक्ष मात्र मात्र छैनन ।  वैदेशिक रोजगारीले सामाजिक क्षेत्रमा थुप्रै विसंगतिहरुलाई पनि बढाएकोछ । परंपरा देखिको मौलिक सामाजिक संकारलाई खलवल्याइरहेकोछ, परिवार भित्र अविश्वास तथा सम्बन्ध विच्छेद जस्ता घटनाहरु बढाएकाछ । त्यति मात्र नभएर देशको युवा शक्ति विदेशमा सिमित आम्दानीको लागि समय विताइराख्दा समाजमा रहेर उसले प्रत्यक्ष तथा परोक्षरुपमा योगदान पु¥याउन सक्ने धेरै क्षेत्रमा मुलुक पछाडी परिरहेको । विदेशको कमाईले जीवनस्तरमा सुधार आए पनि सहज जीवनयापन गर्ने बानी विकास भइ परिश्रम गरेर आफ्ना श्रोत साधानको उपयोगीतामा ह््रास आएकोछ । उब्जाउ भुमिहरु बाँझो छन्, ठुलो परिणाममा खाद्यन्न देखि विलासी समानहरुको आयात अत्याधिक बढेकोछ । जसले सिङ्गो मुलुकको आयात व्यापार बढाएर नकारात्मक असर परिरहेको अवस्था प्रति सचेत हुनै पर्दछ ।  वैदेशिक रोजगार बेरोजगारीको तत्कालिन समाधान तथा मुलुकको अर्थतन्त्र धान्ने माध्यम भए पनि मुलुकको समृद्धीको दिर्घकालिन आधार होइन । आज वैदेशिक रोजगारीको माध्यमबाट आर्जन गरेको पुजी, सीप र सम्बन्धलाई मुलुकमा नै उपयोग गरेर दिर्घकालिन समृद्धीको आधार तयार पार्न सकेमा मात्र यो उपलब्धिमुलक बन्नेछ ।      

(भट्टराई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव हुन । )

एनआरएनए एनसीसीकतारको दुई वर्षको अनुभव र स्वयम् समीक्षा

Published on 12 May 2014                                                                                                                                         विनोद भट्टराईमैले बुझेको गैर आवासीय नेपाली संघ एक फराकिलो दायरामा फैलिएको संस्था या भनौ फरक फरक भूगोलमा विश्वभरि फैलिएर रेहका नेपालीहरुलाई सामाजिक तथा भावानात्मक रुपमा सामिप्य गराउने विशाल अभियान नै हो । फराकिलो क्षेत्र फरक फरक परिवेश, फरक फरक क्षेत्र, व्यवसाय, वर्ग, बिचार समुदायका व्यक्तिहरुलाई एउटै सञ्जालमा सहभागी गराएर विविधतालाई एकतामा बाध्ने माध्याम एनआरएनए नै बनिरहेकोछ । आज विश्वका विभिन्न महादिपका ६५ वटा मुलुकहरुमा आफ्नो संगठन विस्तार गरिसकेको एनआएनए अभियानको दोश्रो ऐतिहाँसिक मुलुक कतारमा बसेर एनआरएनलाई नियाल्दै गर्दा यसको अपरिहार्यता भनौ सान्धर्भिकता बढिरहेको देखिन्छ । ”नेपालीका लागि नेपालीद्वारा” भन्ने यसको मूल मन्त्र मात्र हैन समृद्ध नेपालको चाहाना सहित स्वदेश र विदेशमा भइरहेका कार्य तथा गतिविधिहरु यसको सान्धर्भिकता पुष्टि गर्ने थप आधारहरु हुन् । त्यति मात्र हैन उल्लेख्य सीप, शक्ति र योग्यता भएका नागरिकहरु विदेश पलाएन भइरहेका भए पनि मुलुकको समृद्धिका लागि उनीहरुको सहभागिताको अपरिहार्यतालाई  स्वीकार गर्दै राज्य तथा राज्य सञ्चालनका शक्ति केन्द्र मानिएका राजनैतिक दल, नागरिक समाज सबैले गैर आवासीय नेपाली संघलाई दिएको महत्व तथा गैर आवासीय नेपाली संघ प्रतिको सकरात्मक दृष्टिकोणले पनि एनआरएनहरुलाई आफ्नो अभियानमा लाग्न थप हौसला प्रदान गरिरहेकोछ ।हुन त आज गैर आवासीय नेपाली संघ सँगै राजनैतिक पार्र्टी, सामुदायिक, व्यवसायीक तथा अन्य सामाजिक संघ संस्थाहरु पनि डायस्पोरामा आफ्नो उपस्थिति देखाउनका लागि राम्रै गरी लागि परेका देखिन्छ । जसले प्रवासमा नेपालीहरुका गतिविधिलाई निकै प्रभावित गर्ने गरेकोछ । परिवेश जे जस्तो भए पनि एनआरएनए एनसीसीहरु आ–आफ्नो ठाँउमा क्रियाशिल छन्, स्थानीय रुपमा तथा राष्ट्रमा सक्दो सहयोग गरिरहेकका छन् । कतार लगाएत मध्यपुर्वको अवस्था युरोप अमेरिका लगाएतका मुलुकहरुको भन्दा फरक छ । यहाँका नेपालीहरु एक न एक दिन नेपाल फर्कनै पर्ने मानसिकतामा काम गरिहेकाले पनि देशप्रतिको चिन्ता भनौ देशको समृद्धिको आकांक्षा बढी छ भन्दा अन्यथा नहोला । त्यो मात्र हैन जनसंख्या, सामना गरिरहेका समस्याहरु र राष्ट्रलाई पठाईरहेको रेमिट्यान्स आदि कारणहरुले पनि खाडि, मलेसिया जस्ता मुलुकहरुका एनआरएनएहरुका मुद्धाहरु अन्यत्रका एनआरएनहरुको भन्दा भिन्न छन् । ति मुद्धाहरुलाई उठान गर्ने, समाधानको लागि प्रभावकारी रुपमा दबाब दिने उपयुक्त माध्यम समेत एनआरएनए नै बनिरहेकोछ । २००३ डिसेम्बर १२ मा स्थापित एनआरएनए एनसीसी कतारको २ सेप्टेम्बर २०११ मा सम्पन्न चौथो महाधिवेशन मार्फत निर्वाचित कार्यसमिति आफ्नो कार्यकालको उत्तरार्धमा आईपुगेकोछ । निर्देशिकाले निर्देश गरेको वैधानिक प्रक्रिया पुरा गरेर गठन भएको यो कार्यसमितिलाई यसको लक्ष र उद्येश्य केन्द्रित भएर आफ्ना गतिविधिहरु गर्ने जिम्मेवारी र अधिकार रहन्छ । तथापि विगतमा संघका गतिविधिहरुसँग असन्तुष्ट रहदै आएका पक्षहरुलाई समेत महाधिवेशनमा सहभागी गराएर अगाडी बढ्ने प्रयास स्वरुप चौथो महाधिवेशन हुनु भन्दा अगाडी तत्कालीन एनसीसी कतार, वैचारिक संस्थाका प्रतिनिधिहरु र कतारका नेपालीहरुका गन्यमान्यहरु समेतका बिचमा एक १५ बुदे सहमति गरिएको रहेछ । श्रमिक कल्याणको पक्षमा काम गरिनु पर्ने आशयको समझदारी भनिएता पनि सो समझदारी विगतमा एनआरएनए कतारका गतिविधि तथा कार्यहरु प्रति असन्तुष्टि जनाउदै आएका पक्षहरुलाई महाधिवेशन तथा निर्वाचन प्रक्रियामा ल्याउने भ¥याङ थियो त्यो समझदारी । अनगिन्ती वार्ता, छलफल र समन्वयमा निकै समय खर्चेर गरिएको सो समझदारीले कतारको नेपाली समुदाय भित्र सकरात्मक सन्देश दिनुुका साथै संख्यात्मक आकार जे जस्तो भए पनि औपचारीकरुपमा समुदायका सबै पक्ष सहभागी हुने सुनिश्चत भए पछि ठुलै उपलब्धि भएको चर्चा गरियो त्यसबेला । जे भए पनि निर्वाचित भएर आउने कार्यसमितिलाई कार्य योजना बनाउन तथा कार्य संचालनगर्न उपयोगी हुने सो सममmदारीका बुदाँहरु स्वागत योग्य थिए र कतारमा कार्यरत नेपाली समुदायको हितमा थिए । त्यहि समझदारीको आधारमा चौथो महाधिवेशनले दिएको म्याण्डेटको धरातलमा उभिएर तर्जुमा गरिको कार्ययोजनाहरुलाई कार्यन्वयन गर्दै वर्तामान कार्यसमिति आफ्नो कार्यकाल सम्पन्न गरिरहेकोछ । समझदारी बने पनि आखिर एनसीसीको नेतृत्व चयनमा सहमति हुन सकेन र विभिन्न कठिनाईहरुका बाबजुद संस्थालाई जिवन्तता दिन पनि निर्वाचन गर्नै पर्ने अवस्था श्रृजना भयो । स्वभाविक प्रक्रियाको रुपमा निर्वाचन मार्फत कार्यसमिति गठन भयो । जसको एउटा पदाधिकारीको रुपमा कार्य गर्ने अवसर पार्षद ज्यूहरुले मलाई पनि प्रदान गर्नु भयो । त्यहि बाट सुरु गरिएको कार्यको अध्याय करिब करिब पुरा हुन लागेकोछ ।
अनुमानित ४ लाख भन्दा बढीको संख्यामा रहेको नेपाली समुदाय, १२९६ परिषद् सदस्यहरु, १०० भन्दा बढि स्थापित संघ संस्थाहरु, राष्ट्रको प्रतिनिधि संस्था दुतावास अनि हाम्रो भन्दा फरक परिवेश र फरक कानुन भएको कतारको वातावरणलाई समन्वय गर्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्नु पर्ने चुनौतिपूर्ण वातावरणमा गठन भएको एनआरएनए एनसीसी कतारले ऐतिहाँसिक सफलताका साथ आफ्नो कार्यकाल पुरा गर्न सफल भएकोछ । यो कार्यकालमा संस्थाले विगत देखि गर्दै आएका सबै राम्रा कार्यहरु साहित्य, कला, संस्कृति तथा पर्यटन प्रबद्र्धनात्मक कार्यहरु, सहयोग, उद्धार लगाएतका मानवीय कार्यहरुलाई निरन्तरता दिदै गरिएका थप कार्यहरुमा सुरक्षित आप्रवासनको मुद्धा, श्रमिकका आवाज धेरै सवलरुपमा उठान भएका छन् । अधिकांश सदस्यहरुको हितसँग सरोकार राख्ने मुद्धा तथा विषयहरु तलब वृद्धि, राहदानी नविकरणमा सहजता, पुन श्रम स्वीकृतिको प्रक्रियामा सहजता, सेल्टर हाउसको थप व्यवस्थापन, दूतावासमा कर्मचारी थप, दूतावासलाई आवाश्यक पर्दा गरिएको अस्थाई कर्मचारी तथा भौतिक सहयोग आदी कार्यहरुमा संस्थाले खेलेको भूमिका पनि उल्लेखनीय कार्यहरुमा पर्दछन् । वैदेशिक रोजगारीमा रहेका समस्या र पिडाहरुलाई परंपरागतरुपमा तत्कालीन राहात उद्धारमा मात्र सीमित नरहि यसको दिर्घकालीन न्यूनिकरणका लागि विभिन्न सरोकारवाला संघ संस्था र निकायहरुको सहयोगमा गरिएका प्रयासहरु ऐतिहाँसिक उपलब्धि हुन । विदेशमा विचल्लि भएर स्वदेशमा पुग्दा समेत विचल्लि हुनु पर्ने अवस्थालाई न्यूनिकरण गर्न काठमाडौमा आश्रय स्थल स्थापनार्थ गरिएको सहयोग, कतारका स्थानीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु मानवअधिकार समिति, खेलकुद क्लबहरु, विभिन्न आप्रवासीका समस्याहरुमा सरोकार राख्ने संस्थाहरु सँग विकास गरिएका संस्थागत सम्बन्ध, कतारमा स्थापित नेपाली संघ संस्थाहरु बिच नयाँ ढंगले गरिएका समन्वयको प्रयासबाट विकास भएको सम्बन्ध, विभिन्न मानवीय कार्यहरु, सांस्कृतिक, साहित्यिक, खेल क्षेत्रमा गरिएका कार्य तथा सहभागिता, कतारका नेपालीहरुको दिर्घकालीन हितका लागि कोशे ढुंङ्गा हुने कल्याणकारी कोष तथा सांस्कृतिक केन्द्रको स्थापनाका लागि गरिएका पहलहरु, आइसीसीले अघि बढाएको सामूहिक लगानीमा सहभागिता, एक एनसीसी एक परियोजना, सिराह आगलागि, सेति बाढि पीडित आदीमा गरिएको एक्यबद्धता र सहयोग  देखि मुख पत्र दोहा दपर्ण प्रकाशन गर्दा सम्मका कार्यहरु सम्पन्न गरिसक्दा पार्षद्हरुले दिनुभएको अमूल्य मतलाई अन्याय गरिएन भन्ने लागेकोछ । एक पदाधिकारीको रुपमा आफैले मूल्याङकन गर्दा पनि यो कार्यकाल सीमित श्रोत साधनमा अधिकतम कार्य गर्न सफल भएको निष्कर्षमा पुगेकोछु ।हुन त सामूहिक वा सार्वजनिक कार्यहरु बिरलै मात्र सर्वस्विकार्य हुन्छन् । प्राय सार्वजनिक कार्यहरु वास्तवमै पूर्णरुपमा असन्तुष्टि रहित हुनु गाह«ो विषय हो । फेरि पनि गरिएका कार्यहरु सधै त्रुटी रहित हुन्छन् भन्ने कुरामा विश्वास पनि गर्दिन । आफ्नो प्रमुख कार्य गरेर बचेको समयलाई व्यवस्थापन गर्दै गरिएका कार्यहरुमा कहीँ कतै मानवीय त्रुटिहरु भएका हुन सक्छन् । उल्लेख्य कार्यहरु सम्पन्न भए पनि यस कार्यकालमा एनसीसी कतारका गतिविधिहरु प्रति समुदायमा टिका टिप्पणीहरु नभएका,असन्तुष्टिहरु व्यक्त गरिएका जानकारीहरु नआएका होइनन् । यथार्थता नबुझेर या नबुझे जस्तो गरेर जसरी गरिएका भए पनि टिका टिप्पणीहरुलाई संस्थाले या नेतृत्वकर्ताले सुन्नु पर्छ र अगाडीका कार्यहरुका लागि मार्गचित्रको रुपमा लिनुपर्दछ भन्ने मान्यतालाई शिरोधार्य गर्दै एनसीसीले त्यसलाई ग्रहण गरेर आफ्ना कार्यहरु जारी राखेको थियो । सफल भयौ भनिरहदा रहदै पनि विभिन्न कारण र परिस्थितिहरुले चाहेर पनि यस कार्यकालमा केहि कार्यहरु अपेक्षा गरिए अनुसार गर्न सकिएन होला तर अधिकांश योजना गरिएका कार्यहरु सम्पन्न भए । निर्वाचित कार्यसमितिले सकरात्मक र केहि नवीन सोचका साथ सामूहिक हितकालागि कार्य गर्ने प्रयास गर्दा गर्दै भएका कमिकमजोरीहरुलाई आधार बनाएर संस्थाकोबारेमा सार्वजनिक आलोचना गरिनु भन्दा सुधारको लागि उपाय तथा दृष्टिकोण सहितका सुझावहरुकोरुपमा आएका भए ती टिका टिप्पणीहरु बढी रचनात्मक र महत्वपूर्ण रहन्थे । तर अपवाद बाहेक त्यस्ता प्रस्ट दृष्टिकोण सहितका रचनात्मक सुझावहरु संस्थागतरुपमा नआउनु बरु यदा कदा सबैे नेपालीहरुको साझा संस्था र सिंङ्गो समुदायको प्रतिष्ठामा आँच आउन सक्ने खालका अस्वस्थ टिका टिप्पणीहरु भएको जानकारी आउनुलाई विडम्बना नै मान्नुपर्छ । परिषद् बैठक कै स्मरण गर्ने हो भने पनि तय गरिएको कार्ययोजना अनुसार कार्यक्रमहरु भए कि भएनन् ? प्रगति प्रतिवेदनमा सबै गतिविधिहरु समेटिएकि समेटिएनन् ? भन्ने जस्ता सामुदायिक सरोकारका प्रश्नहरु कहिल्याहि सामना गर्नु परेन दुईबर्षको अवधिमा । आर्थिक विषयमा गरिने केहि छलफल तथा सुझावहरु समेत अप्रसांगिक र अव्यवहारिक बढी रहन्थे । संस्थाले गरेका कार्यहरुलाई सही विश्लेषण नै नगरी गलत देख्ने, निस्वार्थरुपमा जिम्मेवारी निर्वाह गर्दा गर्दै पनि पदाधिकारीहरुले जस नपाउने आदी घटनाहरु स्मरण गर्दा साच्चै नै कतारको एनआरएनए एनसीसी आवश्यक पर्दा सबैको साझा अनि मौका पायो कि सबैले “तारो” बनाउने संस्था पो हो कि ? भन्ने अनुभूति पनि नभएको हैन कहिले काहि । अझ कतिपय अवस्थामा व्यक्तिको जीवन शैलि, विचार अनि उसको सामिप्यता जस्ता नितान्त व्यक्तिगत विषयहरुलाई आधार बनाएर संस्थागत हितमा गरिएका कार्यहरुप्रति उपेक्षित र अतिशयोक्तिपूर्ण व्यवहारहरुलाई सामाजिक खोल ओडेर गरिएका असामाजिक कर्मको संज्ञा दिन मन लागेकोछ । अन्तरआत्मा देखि नै समुदायको हित चाहानेहरुले फराकिलो छाती गरेर सामाजिक मुल्यमान्यता अनुरुप चल्नु पर्छ भन्ने मेरो व्यक्तिगत सोच समेत हावामा उडेको हो कि भन्ने महसुस हुन्थ्यो कहिले काँहि । दुई वर्ष अगाडी एनआरएनए एनसीसीको जिम्मेवारी बहन गर्न तत्पर छु भनेर राम्रै तामझामका साथ उम्मेद्धवारको रुपमा चुनावी मैदानमा होमिएका दर्जनौ परिषद् सदस्यहरु संस्थाले गरेका कार्यहरुमा न्यून सहभागिता समेत नरहनु अर्को विडम्बना नै मान्दछु । चुनावि मैदानमा चाहे हारेका हुन् या जितेकाहुन संस्थाको अभियान प्रति प्रतिबद्ध भएर पंजीकृत सदस्य बनेका सबै पारषद्हरुकोे संस्था प्रति केहि न केहि जिम्मेवारी पक्कै हुन्छ तर या त यो नबुझिएको हो या त नबुझे जस्तो गरिएको हो त्यो प्रश्नको उत्तर सम्बन्धित महोदयहरुसँग नै होला तर चौथो महाधिवेशनताका देखिएको जोशहरु महाधिवेशन पछि धेरै नै सेलाएर गए पनि फेरी पाँचौ महाधिवेशन नजिकिदै गर्दा भने ती अनुहारहरुको सक्रियता बढ्न थालेको देखिनुले काम गर्न भन्दा पद लिनमात्र अग्रसर हुने हाम्रो संस्कारलाई झन् उदाङ्गो पारिदिएकोछ ।तर यसको विपरीत एनआरएन एनसीसीको यस कार्यकालको अर्को महत्वपूर्ण पाटो पनि थियो । त्यो हो २०११ को सेप्टेम्बर ३ को बिहान कतारका नेपाली समुदाय बिच एउटा उत्साह सृजना भएको थियो । अधिकांश कतारबासी एनआरएनहरुको भावनालाई समेट्ने विगतमा भन्दा पनि जुझारु एनसीसी निर्माण भएको छ यसले त्यही बमोजिम समुदायको हितमा कार्य गर्नेछ, कतारमा नेपाल र नेपालीको प्रतिष्ठा उच्च पार्न आवश्यक कार्य गर्न सबल कार्यसमिति निर्माण भएकोछ भन्ने विश्वाश समुदायमा गरिएको थियो । हो एनसीसीको यो कार्यसमितिलाई निर्वाचित गराउन देखि कार्यसम्पन्न गर्दा सम्मका हरेक पलहरुमा समुदायका विभिन्न संघ संस्था, परिषद् सदस्यहरु, अग्रज, व्यवसायी, बुद्धिजिवी, पत्रकार आदी क्षेत्रबाट उल्लेख्य साथ सहयोग र एक्यबद्धता मिलेको थियो । एनसीसीको नेतृत्व र सिंङगो टिमले पनि परिषद्सदस्यहरु तथा समुदायको त्यो भावनालाई कहिल्यै पनि बिर्सेन, सकारात्मक सोच, इमान्दारीता, धैर्यता, लगनशिलता, निष्पक्षता जस्ता सामाजिक जीवनका आधारभूत मान्यताहरुलाई पालना गर्दै हरेक औपचारिक तथा अनौपचारिक बैठकहरुमा समुदाय र संस्थाको मात्र हितहुने कार्य तथा छलफलहरुमा केन्द्रित रहेर सर्वसम्मत निर्णयहरु गर्न सक्नु यस कार्यकालको प्रमुख बिशेषता थियो । सायद त्यसैको परिणाम हुनु पर्दछ एनसीसीले गरेका अधिकांश कार्यक्रम तथा परियोजनाहरु सोचे भन्दा भव्यरुपले सफल भए । यी सफल सामाजिक कार्यहरुमा सहभागी हुन पाउदा मैले आफूलाई भाग्यशाली महसुस गरेको छु । अध्यक्ष ज्यूको कुशल नेतृत्व, व्यवस्थापकिय तथा समन्वयको  क्षमता, उपाध्यक्ष ज्यूको लगनशिलता, महासचिव ज्यूको संस्थागत परिपक्वता, कोषाध्यक्ष ज्यूको स्पष्ट र पारदर्शी जिम्मेवारी निर्वाह, कार्यसमितिका सदस्य मित्रहरुको उत्साहजनक जिम्मेवारी बोध, समझदारी तथा संस्थाका गतिविधिहरुमा एक्यबद्धता, सल्लाहकार ज्यूहरु तथा अग्रजहरुको नजिकबाट प्राप्त गहन सुझाव सल्लाह र हौसला, परिषद् सदस्य तथा संघ संस्थाहरुको एक्यबद्धता र हातेमालो आदीको संयोजन आफैमा रहर लाग्दो मात्र थिएन एनआरएनए एनसीसी कतार सामूहिक कार्य (त्भबm ध्यचप) को एक राम्रो उदाहरण समेत थियोे । संस्थाको पदमा रहेर निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्न सके या सकिन तर मैले यस अवधिमा निकै सिक्ने अवसर प्राप्त गरे र प्रशस्त सन्तुष्टि समेत लिएकोछु । निर्वाचित भए देखि नै संस्थाका आन्तरिक तथा नियमित कार्यहरुमा सहभागि हुने कार्यका अलवा यस अवधिको कार्ययोजनाको स्वरुप तयार गर्ने देखि कार्यान्वयन गर्ने अधिकांश कार्यहरुमा आफूलाई नजिकबाट सहभागी गराउन पाउनु अनि ती सबै कार्यहरु एक पछि अर्को गर्दै सफल हुनु मेरो सन्तुष्टिको मुख्य कारण थियो । यो क्रममा मेरा बिशेष पे्ररणादायी अवसर प्रदान गरेर प्रेरित गरिरहेने अध्यक्ष ज्यू तथा पदाधिकारी मित्रहरु, परिषद् सदस्यहरु ज्यूहरु, सल्लहकार तथा अग्रजहरु, एनसीसीले समुदायको साझा संस्थाको रुपमा विभिन्न कार्यहरुमा अगुवाई गरिरहदा एक्यबद्धता सहित हातेमालो गर्ने संस्थाहरु अनि मलाई आफ्नो पदिय जिम्मेवारीको बोझ कम गराएर एनसीसीको काममा सहयोग गर्ने मोरङसुनसरी सेवा समाजको सिङ्गो टिम सबै प्रति कृतज्ञछु ।
लाखौको संख्यामा उपस्थित समुदायको एक मात्र साझा संस्थाका गतिविधिहरुको मुल्याङकन अवश्य पनि विभिन्न कोणहरुबाट भएका हुनुपर्दछ । एक पदाधिकारीको रुपमा जिम्मेबारी निर्वाह गर्ने क्रममा दुई बर्षमा मैले जे अनुभव गरे, जे बुझे नितान्त त्यसको भावनात्मक अभिव्यक्तिहरु मात्र भएकोले यि हरफहरु कहि कतै पुर्वाग्रही बन्ने छैनन् भन्ने विश्वास सहित बाँकि मूल्याङकनको जिम्मेवारी पार्षद सदस्यज्यूहरु र सिङ्गो समुदायलाई ।
(एनआरएनए एनसीसीकतारको मुख पत्र दोहा दर्पणको पाँचौ अंकमा प्रकाशित)

वैदेशिक रोजगारका समस्या र समाधानका बाटाहरु


Older  post from 2010

विनोद भट्टराई
देशको अस्थिर राजनैतिक स्थिति, जनसंख्या वृद्धिको अनुपातमा रोजगारीको अभाव, बदलिदो विश्व परिस्थितीको प्रभाव आदी कारणहरुले पछिल्ला दशकमा  आँधिबेहेरी जस्तै फैलिएको नेपालको बैदेशिक रोजगारीलाइ सहि व्यावस्थापन नगर्ने हो भने दिर्घकालिनरुपमा अभिसाफ बन्ने सम्भावना छ । वैदेशिक रोजगारीबाट तत्कालै नगद प्राप्त हुने र व्यावहारीक जिवनका समस्याहरु सजिलो गरि समाधान भइरहेकोले कयौ समस्या तथा कठिनाईहरु हुदाहुदै पनि बैदेशिक रोजगारीमा जानेहरुको संख्या स्वत स्फुर्तरुपमा अत्याधिक वृद्धि भइरहेको छ ।
श्रोत साधन सम्पन्न हाम्रा गाँउ, बेंसी, तराइ पहाडलाई आधुनिक प्रविधिको प्रयोग गरि उत्पादनशिलता बढाउन वा भएको दक्षता, श्रमशक्ति र सिपलाइ राष्ट्रको सामाजिक, आर्थिक विकासमा लगाउनुको सट्टा बैदेशिक रोजगारीबाट प्राप्त आम्दानीबाट विलाशि जिवन बिताउने प्रवृति ह्वात्तै बढेको छ । परिश्रमी, लगनशिल, इमान्दार नेपाली समाज मन्द गतिमा विकृत बनिरहेको छ । घरका मुलि विदेश जाने र घरमा बसेकाहरु सहज र आनन्दायक जिवन शैलि विताउनलागे पछि नेपाली समाजमा अनगिन्ती विकृतिहरु प्रतक्ष तथा परोक्षरुपमा मौलाइरहेका छन् । जुन सामाजिक, आर्थिक विसंगतिहरु हुन् । जिवन शैलिमा आएको परिवर्तनले जुन अनुपातमा रेमिट्यान्सको रुपमा पैसा भित्रिरहेको छ त्यहि अनुपातमा व्यापार घाटाकोरुपमा पैसा विदेशिरहेको छ । भोलि कथंकदाचित रेमिट्यान्सको श्रोत्र बन्द भयो भने अहिले रेमिट्यान्स हुदाको आर्थिक अनुपातलाई कसरि स्थिरता दिने भन्ने बिषयमा न त सरकार चिन्तित छ न हामी स्वयं । त्यस बाहेक बैदेशिक रोजगारको क्रममा रहेका अनगिन्ती कठिनाइहरुको विकराल अध्याय ठुलो चुनोतीको रुपमा विद्यमान छ ।
यति हुदाहुदै पनि बैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा खर्बौको योगदान गरिरहेका छ । हाम्रा परिवारले ऋण मुक्ति पाएको, बच्चाहरुले बोर्डिङ स्कुल पढ्न पाएको, बाबा आमाले बिरामी हुदा अस्पालमा उपचार गराउन पाएको, घरमा आइपरेका गर्जो टरेको, टि. भि., मोबाइल, कम्प्युटर, मोटरसाइकल आदी आदी वा घर घडेरी किनेको या हामीले सानो तिनो व्यापार व्यावसाय शुरुवात गर्न सक्नुमा पक्कै पनि बैदेशिक रोजगारको महत्वपुर्ण भुमिका छ, जुन यसको सरात्मक पक्ष हो । अर्का तिर बैदेशिक रोजगारीको आधारमा प्रतक्ष परोक्ष रुपमा हजारौंले पाइरहेको रोजगारी पनि यसको अर्को सकरात्मक पक्ष हो । त्यसैले हामि आजको परिप्रेक्षमा न त बैदेशिक रोजगारहरुलाई त्याग्न सक्छौं न यसका विकृतिहरुलाई र यस भित्रका समस्याहरुलाई चुपचाप स्विकार गरेर हाम्रो समाजिक संरचना र अपेक्षित सवल भबिष्यलाइ उपेक्षा गर्न सक्छौं । आजको एउटै मात्र उपयुक्त बाटो भनेको बैदेशिक रोजगारीका समस्याहरुलाइ हल गर्दै यसलाइ कम जोखिमपुर्ण बनाउनु र त्यसबाट आर्जित अर्थ, सिप, ज्ञान, व्यवहारीक शिक्षालाई अधिकतम उपयोग तथा व्यावस्थापन गरि राष्ट्रलाई भविष्यमा स्वाबलम्बि बनाउने बाटोमा समग्र राज्य र जनता लाग्नु हो ।  यसका लागि वैदेशिक रोजगारीका समस्याहरु तथा समाधानका बाटोहरुलाई निम्नानुसार पहिचाहान गरिएको छ ।

मध्यपुर्वमा केन्द्रित बैदेशिक रोजगारका समस्याहरु
  • बैदेशिक रोजगारको नाममा सजिने उच्च महत्वकांक्षा, यथार्त धरातलमा आधारीत मानसिक तयारीको अभाव तथा कामदारको अदक्षता, रोजगारदाता मुलुकको कानुनी तथा अन्य परिवेसको जानकारीको अभाव ।
  •  कामदारलाइ बैदेशिक रोजगारीमा पठाउने नेपालको  पिडक संयन्त्र । (यसमा केहि हद सम्म पिडित पनि दोषि हुन्छन) । बैदेशिक रोजगार व्यावसायमा अस्वस्थ प्रतिष्पर्धा, मानविय संवेदनारहित एजेन्टहरुको परिचालनको कारण बैदेशिक रोजगारीमा जानेहरुले अत्याधिक पैसा तिर्नु पर्ने बाध्यता  ।
  • काममा आइसके पछि रोजगारदाता मुलुकमा नेपाली कामदारलाई हेर्न दृष्टिकोण, गरिने व्यावहार र नेपाली कुटनैतिक नियोगहरुको दह्रो पहँुचको अभाव  ।
  • परिवारको सदस्य बैदेशिक रोजगारीमा गएपछि घरपविार र समाजमा बढ्ने महत्वकांक्षा र बदलिदो जिवनशैलि ।
  • पैसा धेरै तिर्ने तर आवाश्यक प्रक्रिया (बिमा, स्वास्थ्य परिक्षण,अभिमुखिकरण तालिम) पुरा नगरी हतारमा हिड्ने प्रवृति परिणाम समस्यामा पर्दा क्षतिपुर्ति या राहात बाट बन्चित  ।
  • कमाउने लोभमा प्रतिबन्धित मुलुकमा दोश्रो मुलुक भएर लाने र जान तयार हुने प्रवृतिको हावि ।
  • अपर्याप्त बिमा रकम र क्षतिपुर्ती पाउन झन्झिटिलो प्रक्रिया ।

समस्या समाधानका उपायहरु
राज्य स्तर बाट गरिनुपर्ने
  • सम्बन्ध सुधार तथा नियोगहरुको सुदृढीकरण र क्षमतामा विस्तार ।
  • राज्यले बैदेशिक रोजगारका समस्या र जानुपुर्व ध्यान दिनु पर्ने विषयहरुलाइ लाई प्रभावकारी कार्यक्रम संचालन गरेर वा लक्षित स्तरको पाठ्यक्रममा नै समावेश गरेर भएपनि सुचित गर्नु पर्ने ।
  • भएका व्यवस्थाहरु ( अभिमुखिकरण तालिम, श्रम स्विकृति, स्वास्थ्य परिक्षण, विमा ) का नाममा सर्वसाधारणलाई झन्झट होइन सम्बन्धित व्याक्तिले सुविधा पाउने गरि अनिवार्य एवं प्रभावकारी कार्यान्वय ।
  •  बैदेशिक रोजगार व्यावसायलाइ बिषेश व्यावसायको रुपमा लिइ सरकारले प्रोहोत्साहन र कडाइ दुवै गरेर स्वस्थ र मर्यादित व्यावसाय बनाउने । साथै यस व्यवशायका एजेन्टहरुलाइ राज्य स्तरबाट नै परिचय पत्र प्रदान गरि व्यावसायिक नियन्त्रण गर्नुका साथै अवैध तरिकाले काम गर्ने हरुलाई कडा कार्बाहि गर्ने ।
  • राज्य र राज्य संचालकहरुको बैदेशिक रोजगारलाई हेर्ने दृष्टिकोण व्याबहारिक रुपमा नै परिवर्तन हुनु पर्ने  । यसको अनुभुति रोजगारीमा जानेहरुले प्रतक्षरुपमा यात्राका समयमा विमान स्थलदेखि राज्यका हरेक अंगमा गर्न पाउन् ।
  • बिमाको  रकम बढाउनुका साथै क्षतिपुर्ति वितरणमा सहजिकरण गर्नु पर्ने ।
  •  रोजगारदाता मुलुकहरुले आफ्ना नागरिकहरुलाई हेर्ने दृष्टिकोणमा कुटनैटिक माध्यामबाट परिवर्तन गराउन ध्यान दिने तथा यस क्षेत्रमा देखिएका समस्याहरुको राज्य स्तरबाट समाधान गर्ने फलस्वरुप  बैदेशिक रोजगारीमा रहेका नागरिकहरुको आत्मा बिश्वास उच्च रहन्छ धेरै लुकेर बसेका समस्याहरु सम्बन्धित निकाय सम्म सजिलो गरि पुगोस ।
  •  राज्यले बैदेशिक रोजगारी बाट प्राप्त आम्दानीलाइ उत्पादनशिल क्षेत्रमा लगाउने वातावरण तयार गरि बैदेशिक रोजगारीमा आश्रित परिवार, समाज र स्वयंम राज्यको आर्थिक भविष्यलाई सुरक्षा प्रदान गर्ने ।
  •  प्रवासी नागरिकका परिवार लक्षित विषेश कार्यक्रम संचालन गरि कानुनि राज्यको प्रत्याभूती, सामाजिक अनुशासन, आपसि सद्भाव, सामाजिक चेताना, व्यावहारीक शिक्षाका विषयमा सुचित गरि विद्यमान सामाजिक विकृतिहरुलाइ कम गर्न राज्य स्वयंले पहल गर्ने । यसमा गैरआवासिय नेपाली तथा प्रवासमा रहेका जिल्ला संस्था हरुलाइ समेत समन्न्वय गरि परिचालन गरेमा अझ प्रभावकारी हुनसक्छ ।
  •  कतारमा आयोजना हुने निश्चत भएको विश्व कप फुटवल २०२२ लागाएत विश्वका विभिन्न क्षेत्र भएका सम्भावित राम्रा अवसरहरुलाई लक्ष गरि दक्ष जनशक्ति उत्पादन गरि यस क्षेत्रको गुणस्तर वृद्धिमा पहल गर्ने ।


 बैदेशिक रोजगार व्यावसायी हरुले ध्यान दिनु पर्ने
  • रोजगारदाता कम्पिनिहरुको सहि छनौट, तलब, भत्ता, जिवन तथा स्वास्थ्य विमा, हवाई टिकट लगाएत श्रमिकले पाउनु पर्ने सुविधाको सुनिश्चतता गराउने ।
  • स्वस्थ प्रतिष्पर्धात्मक व्यापार गरि श्रमिकहरुलाइ कम खर्चमा पठाउन ध्यान दिने । मानवतालाई समेत ख्याल गरि उचितमात्र सेवा शुल्क संकलन गर्ने ।
  • रोजगार दाता कम्पिनि संग कुनै दवाबमा नपरी प्रष्ट सहमति गर्ने जसले गर्दा राहात तथा क्षति पुर्ति लिन आधार होस ।
  • एजेन्टहरुलाइ बिषेश प्रक्षिण तथा परिचयपत्रको व्यावस्था गरेर व्यावसायिकरण गर्ने ।
  • विदेशमा कुनै दुर्घटना भएमा सरकार, उक्त मुलुकमा रहेका नियोग वा संघ संथाहरु संग समन्न्वय गरि तत्काल उद्धार गर्ने राहात दिलाउने संयन्त्र खडा गर्ने ।
  • कतारमा आयोजना हुने निश्चत भएको विश्व कप फुटवल २०२२, तथा विश्वका विभिन्न मुलुकमा सम्भावित राम्रा अवसरहरुलाई सरकार सँग समन्न्वय गरि खोजी गरि राष्ट्रलाइ थप योगदान थप दिन । जसले सबै क्षेत्रलाइ फाइदा पुगोस ।
  • समग्रमा सम्पुर्ण राष्ट्र प्रति जिम्मेवार, इमान्दार व्यवसायि बन्ने ।


बैदेशिक रोजगारमा जाने व्याक्तिहरुले ध्यान दिनु पर्ने
  • बैदेशिक रोजगारमा जानु अगाडी आफ्नो क्षमता बमोजिमको काममा आवाश्यक ज्ञान लिएर जाने । जाने मुलुकको कानुनी, भौगोलिक, समाजिक र सम्भव भए भाषाको समेत ज्ञान लिएर मात्र जाने ।
  • धेरै कमाउने उच्च महत्वकांक्षा लिएर अबैध बाटो भएर जाने, प्रतिबन्धित ठाउहरुमा जाने, हतारमा आवाश्यक प्रक्रिया नपु¥याई जाने कार्य जाने क्रम बन्द गर्ने ।
  • आफ्नो क्षमता अनुसारको आम्दानीमा आधारीत जिवनशैलि व्यतित गर्न नागरिक स्वयंम सचेत हुने ।
  • प्रतिबन्धित, अवैध कार्य बाट सधै टाढा रहहनुका साथै संयम, लगनशिल भएर काम गर्ने आदी ।


यसका अलावा भएका निति नियमको पालना, सबै पक्षको इमान्दारीता, यर्थात धरातलमा उभिएर प्रतिबद्धता र कार्यन्वयन महत्वपुर्ण पाटो हो । यहि नभएका कारण आज मुलुकको आर्थिक मेरुदण्डको रुपमा फस्टाएको बैदेशिक रोजगार समस्या र विकृतिहरुको भुमरीमा गुम्सिरहेको छ ।