वैदेशिक रोजगारीका आयामहरु

Published on 12 May 2014

विनोद भट्टराई


नेपालीहरु वैदेशिक रोजगारीमा जाने क्रम ९०को दशक तिव्र भएको तथ्यहरु छन् । दशक अघि सम्म वैदेशिक रोजगारी एउटा व्यक्तीको निजि तथा वैदेशिक रोजगार व्यवसायीहरुको व्यवसायीक मामिलामा सिमित थियो तर आज यो राष्ट्रका सबै तह तप्का र क्षेत्रको सरोकारको बिषय बनिसकेको छ । वैदेशिक रोजगार आज रेमिट्यान्स भित्रयाउने श्रोतमा मात्र सिमित छैन । यसले आर्थिक, सामाजिक, सांस्कृतिक आदी क्षेत्रमा थुप्रै प्रभावहरु पारिरहेकोछ ।

वेरोजगारी समस्यालाई राहत, अर्थतन्त्रलाई टेवा 
वैदेशिक रोजगारबाट प्राप्त विदेशि मुद्रा आज राष्ट्रको अर्थतन्त्र धान्ने एक प्रमुख आधार बनेकोछ । मुलुक आन्तरिक द्धन्द्धमा फसेको संक्रमणकालिन अवस्थालाई आर्थिक र राजनैनिकरुपमा असफलहुनबाट बचाउने प्रमुख आधार वैदेशिक रोजगारी बन्यो । करिब २० लाख युवाहरु मुलुक भित्र वेरोजगार भएर रहेको भए मुलुकको आर्थिक, सामाजिक, राजनैतिक अवस्था अझ नाजुक हुने थियो । आर्थिक अभावले श्रृजना गर्ने अपराधिक तथा हिंसात्मक गतिविधिले मुलुकलाई उक्सनै कठिन हुने अवस्थामा पुग्नबाट वैदेशिक रोजगारी बचाएकोछ । साथमा मुलुककमा भएका भौतिक पुर्वाधारहरु, हजारौ नागरिकलाई रोजगारी दिइरहेका उद्योगधन्दा, कल कारखानाहरु द्धन्दको शिकार भइरहदा वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले मुलुकलाई आर्थिकरुपमा असफल हुनबाट बचायो । राज्यका आर्थिक तथा विकासका गतिविधिहरुले गति लिन नसकिरहेका अवस्थामा निजि क्षेत्रबाट देशका कुना कुनामा उल्लेख्य विकास कार्यहरु भए । गाँउ गाउमा सडक, पुल, भवनहरु निर्माण भइरहेकाछन् । विभिन्न माध्यामबाट साना ठुला क्षेत्रमा विदेशमा रहेका नेपालीहरुले लगानी गर्दै योगदान गरिरहेका छन् । यसको समेत परिणाम मान्नु पर्दछ मुलुक राजनैतिक द्धन्दबाट शान्ति र लोकतन्त्रको बाटोमा लाग्न सक्यो र यो गन्तव्यमा पुग्ने विश्वास नेपालीहरुमाछ । 
 एनआरएनए अभियानको एक प्रमुख आधार ः
गैरआवासीय नेपाली संघको स्थापनाको एक दरिलो आधार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको संख्या पनि थियो । गैरआवासीय नेपाली संघको स्थापना भन्दा धेरै अगाडी देखि बैदेशिक रोजगारीको क्रममा नेपालीहरु विदेशिने गरेको भएपनि विश्वव्यापी रुपमा संगठित हुन सकेका थिएनन् । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको सामुहिक प्रयासबाट गैरआवासीय नेपाली संघको स्थापना भए सँगै वैदेशिक रोजगारीमा रहेका नेपालीहरु पनि संगठित रुपमा त्यस अभियानमा सहभागि बन्न थाले र आज गैरआवासीय नेपाली अभियान र वैदेशिक रोजगार आपसका पुरक जस्तै भएकाछन् । गैरआवासीय नेपालीहरुको कुल संख्याको ७० प्रतिशत भन्दा बढि संख्या बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको छ । संख्यातमक सहभागिता र सकृयताका हिसाबले पनि खाडि, मलेसिया, कोरिया जस्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बाहुल्यता रहेका मुलुकका एनआरएनएहरुको सक्रियाता अगाडी रहेकोछ । अन्य भुगोलको भन्दा फरक पकृतिका मुद्धाहरुका र संवेदनशिल परिस्थितिहरु भएको यो क्षेत्र एनआरएनए अभियानको एक महत्वपुर्ण पाटोको रुपमा रहेकोछ ।
स्थापनाकाल देखि नै एनआरएनएको महत्वपुर्ण जिम्मेबारीहरुमा यस क्षेत्रले स्थान पाउने गरेकोछ । संघले विभिन्न अवसरमा गर्ने घोषणा तथा अवधारणाहरुमा सुरक्षित आप्रवासन तथा मर्यादित वैदेशिक रोजगारका पक्षमा प्रमुखताका साथ आवाजहरु उठाउने गरेका छन् । त्यतिमात्र नभएर मध्यपुर्व र मलेसिया जस्ता मुलुकहरुमा क्रियाशिल संघका राष्ट्रिय समन्वय परिषद्हरु आफ्ना अधिकांश गतिविधिहरु वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा नै केन्द्रित गरेर प्रशस्त कार्यहरु गरिरहेका छन् । विभिन्न समयमा संघले सरकारलाई दिएको दवावले वैदेशिक रोजगारीमा रहेका एनआरएनहरुको हितमा उल्लेख्य कार्यहरुको लागि सहयोग पुगेका उदाहरणहरु प्रशस्त छन् ।
संघले वैदेशिक रोजगार तथा श्रमिक कल्याणका क्षेत्रमा कार्य गर्नको लागि छुट्टै समिति नै बनाएर कार्य गरिरहेकोछ । उल्लेख्य संख्यामा नेपालीहरु रहेको मुलुकमा दुतावास नहुदा नेपालीहरुको अभिभावक संस्थाको रुपमा कार्य सम्पादन गर्ने, दुतावास स्थापनार्थ दवाव दिने देखि लिएर पछिल्लो समयमा दुतावासले प्रयाप्त सेवा दिन नसकिरहेको अवस्थामा क्याम्पिङ गरेर तथा सेवा केन्द्र नै खोलेर  नेपालीहरुका राहदानि आवेदन फारम भर्ने सम्मका कार्यमा एनआरएनएले भूमिका खेलिरहेको छ । वैदेशिक रोजगारीको दिर्घकालीन व्यवस्थापनको लागि विभिन्न समयमा उठाएका आवाज देखि नेपालीहरुलाई आईपरेका आपत विपतमा तत्कालिन राहत, उद्धार तथा सहयोग स्वरुप संघले गरेका असंख्य गतिविधिहरु आंशिक रुपमा भए पनि नेपालीहरुलाई राहत दिइरहेको छ । संघका वर्तमान अध्यक्ष शेष घलेको बिशेष पहलमा स्थापना गरिएकोे बैदेशिक रोजगार राहात कोषले श्रमिक कल्याणका क्षेत्रमा थप भुमिका खेल्ने निश्चित छ ।
आज राज्य तथा वैदेशिक रोजगारमा सरोकार राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुले समेत गैरआवासीय नेपाली संघ सँग सहकार्य गरिरहेको अवस्था छ । राज्यले बैदेशिक रोजगार सम्बन्धि निति निर्माणमा गैरआवासीय नेपाली संघलाई सहभागी गराउन शुरु गरेकोछ । एम्नेस्टी इन्टरनेस्लन, आइएलओ, आइटियुसी जस्ता अन्तराष्ट्रिय संस्थाहरु, रोजगारदाता मुलुकका सरकारी निकायहरु तथा अधिकारवादि संस्थाहरु देखि विभिन्न संचार संस्थाहरु समेत एनआरएनएको सम्पर्कमा रहेर सुरक्षित आप्रवासनका बिषयमा सहकार्य इच्छुक छन् । यसले एकातिर एनआरएनएको महत्वलाई थप उचाई प्रदान गरेकोछ भने वैदेशिक रोजगारीमा भएका अव्यवस्था तथा समस्याहरुलाई न्यूनिकरण गर्न उल्लेख्य सहयोग पुगेको छ । वास्तवमा एनआरएनए अभियानलाई अगाडी बढाउन वैदेशिक रोजगारीमा रहेका नेपालीहरुकोे भूमिका तथा वैदेशिक रोजगारिका समस्याहरुलाई उठान गरि राज्यलाई दवाव दिनको लागि एनआरएनएको भूमिका उत्तिकै महत्वपुर्ण रहेकाकेछ । गैरआवासीय नेपाली संघ र वैदेशिक रोजगारको सम्बन्ध अपरिहार्य सावित भइसकेकोछ र यसको निरन्तरता सबैपक्षको हितमा देखिन्छ ।
 कला, संस्कृति, पर्यटन प्रवद्धन तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा भुमिका ः
केहि दशक अगाडी सम्म हाम्रो बुझाइमा पर्यटन वा भ्रमण बलियो आर्थिक अवस्था भएका विशेष गरि पश्चिमा मुलुकका नागरिकहरुले पैसा खर्च गर्ने कार्यको रुपमा चित्रित थियो । समयको परिवर्तनसँग आज पर्यटन, भ्रमण वा विदा मनाउने संस्कार हामी नेपालीहरुको समेत विकसित भइरहेको छ । विगतमा आफन्त भेटघाट र पातलो धार्मिक भ्रमणमा सिमित नेपाली समाजमा आज धार्मिक, सामाजिक, व्यवसायीक, शैक्षिक तथा मनोरञ्जनात्मक भ्रमण गर्ने क्रम ह्वात्तै बढेको छ । जसले आन्तरिक तथा नेपालबाट बाहिरिने पर्यटनमा निकै विस्तार गरेको छ ।  
यो यतिमा मात्र सिमित छैन । बदलिदो विश्व परिवेश तथा व्यापक आप्रवासनले पर्यटनमा ठुलो प्रभाव पारेको छ । नेपालको परिवेशमा वैदेशिक रोजगारी एउटा प्रमुख कारण हो ।  १ या २ बर्ष वैदेशिक रोजगारी गरेर विदामा घर आएको अधिकांश युवा आफ्नो आर्थिक हैसियत अनुसार परिवारका साथ देश या विदेश घुम्न जाने संस्कार नै बनि सकेको छ । अझ पछिल्लो समयमा आफु कार्यरत मुलुकमा आफ्ना परिवारलाई घुमाउन लैजाने परिपाटि पनि निकै व्यापक छ । वैदेशिक रोजगारीमा विभिन्न मुलुकका नागरिकहरु सँग कार्य गर्दा विकसित सम्बन्धले एक अर्काका मुलुकका बारेमा जानकारी गराएर घुम्न जान प्रेरित गर्ने क्रमले पनि पर्यटनलाई टेवा पुगिरहेको अवस्था छ । यसबाट परम्परागत भन्दा फरक भुगोलका पर्यटनहरुलाई भित्र्याउन मद्दत पुगेको छ । विगतमा आफ्नै मुलुकको फरक भुगोलमा समेत आफन्त बाहेक परिचित नहुने सर्वसाधारण नेपालीहरुका अहिले देशका सबै क्षेत्र तथा विभिन्न मुलुकहरुमा समेत उल्लेख्य संख्यामा साथीभाईहरु रहेका हुन्छन् । यो वैदेशिक रोजगारले ल्याएको परिवर्तन हो ।
वैदेशिक रोगजारीले स्थापना गरेको अन्तराष्ट्रिय सम्बन्धले आज नेपाली कला संस्कृति र भेषभुषाको प्रवद्र्धनमा पनि निकै सहयोग गरेको छ । नेपालीहरुको उपस्थिति रहेका हरेक मुलुकहरुमा आज थुप्रै सांस्कृतिक गतिविधिहरु हुने गरेका छन्  । त्यसले एकातिर स्वयं घर परिवार भन्दा टाढा रहेका नेपालीहरुलार्य आफ्नो भेष भुषा र संस्कृति प्रतिको आस्था र सम्मानलाई कायम राखेको छ भने अर्को तिर नेपाली संकृतिलाई विश्वव्यापिकरण गर्न मद्दत भईरहेको छ। 


प्रवासमा संस्थागत गतिविधि

आफ्ना छिमेकिको मलामी तथा लङगौटियाहरुको जन्ती जान नपाएको पिडा बोकेर भए पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले  प्रवासबाटै उल्लेख्य सामाजिक गतिविहिरु गरिरहेकाछन् । अधुरो पढाई छाडेर विदेशिएका धेरै युवाहरुले र्कमभुमिमा आएर नै संस्थागत गतिविधिमा सहभागि भएको अनुभव बताउने गरेका छन् । प्रवासमा आफ्नो रोजगारीको अलवा विभिन्न भुगोल, समुदाय, बिचार, संस्कृतिका आधारमा स्थापित संघ संस्थामा आबद्ध भएर सामाजिक कार्यहरुमा क्रियाशिल युवाहरुलाई यो अतिरिक्त चौतारी बन्ने गरेकोछ । यसले युवाहरुमा सामाजिक भावना विकास गराइ थुप्रै ज्ञान तथा अनुभवहरु  प्रदान गरेकोछ, घर परिवार भन्दा टाढा रहदाको अवस्थामा हुन सक्ने न्यास्रोबाट मुक्त गराई मानसिक तथा शारिरिकरुपमा स्वस्थ बन्न मद्दत गरिरहेकोछ, फुर्सदको समयमा आवासमा नै बस्दा दिक्क भइ समय काट्न विभिन्न गलत क्रियाकलापमा लाग्न बाट जोगाएकोछ, सामाजिक या संस्थागत सहकार्यको क्रममा स्थापित सम्बन्धले व्यवसायीक तथा व्यक्तिगत जिवनमा समेत साझेदारी तथा सहकार्य नया मार्ग स्थापित गर्ने गरेको छ । कतिपय युवा युवतिहरुले घर परिवारमा रहदा समेत सहभागि नभएका आफ्ना परंपरागत मौलिक सांस्कृतिक गतिविधिहरुमा समेत प्रवासमा नै आएर सहभागि गराउन थालेका अनुभवरु समेत सुन्न पाइएकोछ । यसबाट सहज नै अनुमान गर्न सकिन्छ कि वैदशिक रोजगारीले सामाजिक, सांस्कृतिक रुपमा समेत युवाहरुलाई थुप्रै अनुभव र शिक्षा सिकाएकोछ ।         
  

सामुहिक लगानी तथा उद्यमशिलता उन्मुख वातावरण

  निःसदेन्ह वैदेशिक रोजगारी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार हो । तर यसको उपयोग उत्पादनमुलक क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा भइरहेको र दिर्घकालिनरुपमा राष्ट्रको हितमा प्रयोग हुन नसकेको तथ्याङकहरु आइरहेकाछन् । राष्ट्रले रेमिट्यान्सबाट भित्रिएको विदेशि मुद्रालाई उत्पादनमुलक तथा विकास क्षेत्रमालगाएर पुन बाहिरिन नदिने ठोस निति र कार्यक्रम दिन नसकिरहेको अवस्थामा स्वयं वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आफ्नो स्तरमा उल्लेख्य प्रयास गरेकाछन् ।  आफ्ना र परिवारका आधारभूत आवाश्यकताहरुलाई पुरा गरेर बचेको पँुजिलाई आपसको समुह बनाउदै विभिन्न लघु परियोजनाहरु मर्फत लगानी गरेर उद्यमशिलतातर्फ अग्रसर भइरहेकाछन् । आज गाउ गाउमा साना उद्योग, पशुपालन, आधुनिक कृषिहरुको संख्या बढिरहेकोछ । वैदेशिक रोजगारीको क्रममा भेट भएका मित्रहरुको समुह बनाएर सानो सानो पुजीलाई संकलन गरेर शुरु गरिएका यस्ता कार्यहरु राष्ट्रलाई उल्लेख्य योगदान दिइरहेकोछ । पुजिको साथमा विदेशमा सिकेको सिप तथा आर्जन गरेको व्यवस्थापकिय तथा व्यापार प्रवद्धनको अनुभवलाई समेत उपयोग गरेर गरिने भएकाले यस्ता परियोजनाहरुमा जोखिम न्यून हुने गरेकोछ र भविष्यमा यसले राष्ट्रलाई ठुलो टेवा दिने सम्भावनाछ ।  
सावधानीः

वैदेशिक रोजगारीका सबै सकरात्मक पक्ष मात्र मात्र छैनन ।  वैदेशिक रोजगारीले सामाजिक क्षेत्रमा थुप्रै विसंगतिहरुलाई पनि बढाएकोछ । परंपरा देखिको मौलिक सामाजिक संकारलाई खलवल्याइरहेकोछ, परिवार भित्र अविश्वास तथा सम्बन्ध विच्छेद जस्ता घटनाहरु बढाएकाछ । त्यति मात्र नभएर देशको युवा शक्ति विदेशमा सिमित आम्दानीको लागि समय विताइराख्दा समाजमा रहेर उसले प्रत्यक्ष तथा परोक्षरुपमा योगदान पु¥याउन सक्ने धेरै क्षेत्रमा मुलुक पछाडी परिरहेको । विदेशको कमाईले जीवनस्तरमा सुधार आए पनि सहज जीवनयापन गर्ने बानी विकास भइ परिश्रम गरेर आफ्ना श्रोत साधानको उपयोगीतामा ह््रास आएकोछ । उब्जाउ भुमिहरु बाँझो छन्, ठुलो परिणाममा खाद्यन्न देखि विलासी समानहरुको आयात अत्याधिक बढेकोछ । जसले सिङ्गो मुलुकको आयात व्यापार बढाएर नकारात्मक असर परिरहेको अवस्था प्रति सचेत हुनै पर्दछ ।  वैदेशिक रोजगार बेरोजगारीको तत्कालिन समाधान तथा मुलुकको अर्थतन्त्र धान्ने माध्यम भए पनि मुलुकको समृद्धीको दिर्घकालिन आधार होइन । आज वैदेशिक रोजगारीको माध्यमबाट आर्जन गरेको पुजी, सीप र सम्बन्धलाई मुलुकमा नै उपयोग गरेर दिर्घकालिन समृद्धीको आधार तयार पार्न सकेमा मात्र यो उपलब्धिमुलक बन्नेछ ।      

(भट्टराई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव हुन । )

No comments:

Post a Comment